Logo

लकडाउनमै सकियो, पाटीखोला–उखुबारी सडक कालोपत्रे

पाटीखोला–उखुबारी सडक खण्डमा कालोपत्रे गर्दै । तस्बिर : कारोबार


भीमेश्वर नगरपालिकाबाट शैलुङ जाने पाटीखोला–उखुबारी सडक कालोपत्रे भएको छ । कोरोना भाइरसका कारण दोलखा जिल्लाभर लकडाउन छ । सदरमुकाम चरिकोट बजारमा हिँडडुलमा समेत रोक लगाएको बेला बजारनजिकैको सडक लकडाउनकै बीचमा कालोपत्रे भएको हो ।
हिम्स कलेज छेउदेखि कालोपत्रे भएको हो । सडकको नाली, स्ट्रक्चरको काम र बेसको काम पूरा भएको अवस्थामा लकडाउनमै कालोपत्रे भएको हो । भीमेश्वर नगरपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतले अहिले साढे ३ मिटर चौडाइको सडक कालोपत्रे गरेको बताए ।
बागमती प्रदेश सरकार र भीमेश्वर नगरपालिकाको समपूरक कोषबाट यसको ठेक्का आह्वान भएको थियो । पहिलो चरणमा घुम्ती र सिम क्षेत्रमा ढलान र बाँकीमा कालोपत्रे गरेको उनले जानकारी दिए । सडकको पहिलो खण्ड कालोपत्रे र ढलानसहित एक किलोमिटर पूरा भएको छ । अब दोस्रो खण्डको थप एक किलोमिटर खण्डको काम पनि जारी रहेकाले एक महिनाभित्र कालोपत्रे हुने उनले बताए ।
पहिले ठेक्कामा घटाघटबाट बचेको रकमबाट दोस्रो पटक ठेक्का आह्वान गरेको थियो । पाटी खोलाबाट २ किलोमिटर खण्ड नगरपालिका क्षेत्रका सिमसार र अप्ठ्यारो सडक खण्ड हो । अब पाटी खोलादेखि चर्नावती खोला नगरपालिका क्षेत्रमा बाह्रैं महिना सहजै गाडी सञ्चालन हुनसक्ने भएको छ ।
शैलुङ गाउँपालिकालाई सदरमुकामसँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो । एक वर्षअघि चर्नावती खोलामा बगुवा पुल बनेपछि शैलुङ आवतजावत सहज भएको छ । दिमुन कन्ट्रक्सनका प्रमुख दिनेश थापाले आइतबार पहिलो खण्डको कालोपत्रे पूरा भएको बताए । झरीका कारण केही दिन ढिला भए तापनि मजदुरहरूको पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माणको कामलाई नियमित गरेर काम पूरा गरेको बताए ।
दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका थापाले कोरोना महामारी नियन्त्रणका लागि बजार क्षेत्रमा लकडाउन गरे तापनि निर्माण क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने बताए । स्वास्थ्य मापदण्ड अपनाउँदै निर्माण क्षेत्रमा काम नियमित गराउँदा सरकारी बजेट पनि खर्च हुने र मजदुरहरू पनि बेरोजगारी हुन नपर्ने बताए । केही समय यता अनावश्यक रूपमा डण्डी, बिटुमिनजस्ता निर्माण सामग्रीको मूल्यवृद्धि भएकाले निर्माण क्षेत्रको लागत बढेको छ । सरकारले मूल्यवृद्धि रोक्नका लागि पहल गर्नुपर्ने उनको सुझाव छ ।
यो सडकको दोस्रो खण्डमा भने अमुल एन्ड स्नेहा कन्ट्रक्सनले काम गर्दै आएको छ । भीमेश्वर नगरपालिका–४ भटमासे जिलु सडकको पहिलो खण्डको पनि सोही कम्पनीले काम गरेको थियो । पहिलो खण्डको एक किलोमिटर कालोपत्रे र ढलान पूरा भएको छ । सोही सडकको घटाघटबाट बचेको रकमको पुनः ठेक्का आह्वान गरेको छ । बचेको रकमबाट थप ५ सय मिटर ढलान हुने भीमेश्वर नगरपालिकाका प्रवक्ता हरिवंश चौलागार्इंले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाले पाटीखोला उखुबारी र भटमासे जिलु सडकलाई आफ्नो रणनैतिक सडकको रूपमा राखेको छ । यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर कालोपत्रे गर्ने उनले बताए । त्यसैगरी नगरपालिकाको चोथाङ शेराबेसी जाने सडक भने बागमती प्रदेश पूर्वाधार कार्यालयले ग्राभेल र ढलान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्