गम्भीर लक्षण देखिए घरमै अक्सिजन «

गम्भीर लक्षण देखिए घरमै अक्सिजन

जिल्लाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमितको घर–घरमा अक्सिजन पुर्याउने अभियान सुरु गरेको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर लक्षण देखिएका संक्रमितको घरमा पुगेर अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू पुर्याउने अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
“जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको भएकाले कोरोना संक्रमितलाई जुनसुकै समयमा अक्सिजनको अभाव हुन सक्छ ।” गाउँपालिका अध्यक्ष थापाले भने, “स्वास्थ्य उपकरणको अभावमा संक्रमित समस्यामा नपरुन् भन्ने उद्देश्यले हामीले गम्भीर लक्षण देखिएका संक्रमितहरूको घरमा पुगेर चेकजाँचसँगै स्वास्थ्य सामग्री उपलब्ध गराएका हौँ ।” गाउँपालिकामा एक कोरोना संक्रमितलाई गम्भीर लक्षण देखिएपछि अक्सिजनसहित स्वास्थ्य सामग्री उनको घरमा पुराएको गाउँपालिकाले अन्य संक्रमितलाई पनि गम्भीर लक्षण देखिए घरमा अक्सिजनसहित स्वास्थ्य सामग्री पु¥याउने छ । वर्तमान अवस्थामा संक्रमित भएकाहरूको मनोबल उच्च बनाउन आवश्यक रहेको गाउँपालिका अध्यक्ष थापाको भनाइ छ ।

गाउँपालिकाको वडा नं ६ बरल्बामा गरिएको एन्टिजेन परीक्षणमा वैशाख २४ गते ७७ वर्षका एक वृद्धलाई कोरोना पुष्टि भएपछि उनको स्वाशप्रस्वासमा समस्या देखिएकोले उनको घरमा अक्सिजन सहित स्वास्थ्य सामग्री पुराएको गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसनसम्म आउन नसक्ने गम्भीर लक्षण देखिएका कोरोना संक्रमितलाई उसको घरमा अक्सिजनसहित स्वास्थ्य सामग्री पुराउने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले जानकारी दिए ।

किट अभाव
आफूहरूलाई कोभिडको परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव भएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा उपलब्ध ५० एन्टिजेन किट सकिएकोले गुल्मी अस्पताल र अन्य निजी अस्पतालहरूमा पनि खरिदका लागि पहल गर्दा कतैबाट पनि उपलब्ध हुन नसकेको स्वास्थ्य शाखा प्रमुख चन्द्र थापाले बताए । किटको अभावका कारण कोरोना संकास्पद विरामीहरूको परीक्षणमा ढिलाइ भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्