Logo

वैकल्पिक सरकारका लागि छलफल भइरहेको छ : महत

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो । यसका लागि दलहरुसंग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए । उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे । आइतबार आफ्नै निवासमा संचारकर्मीसंग कुरा गर्दे नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा बैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे ।
उनले भने, “नेपाली कांग्रेस सरकारको नेतृत्वमा जान हतारिएको थिएन । हामीले ५ वर्षपछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो । तर ५ वर्षका लागि निर्वाचित भनेर आएको ओलीजीको सरकार अन्त्यन्तै गैरजिम्मेबार ठहरियो । भ्रष्टाचारको कोणबाट, कोभिड व्यवस्थापनको कोणबाट, लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने कोणबाट सबै कोणबाट जनताविरोधी देखिए । त्यसैले हाम्रो संसदमा संख्या कम भएपनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर वर्तमान सरकारको विकल्प दिउँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो ।”
नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पुर्ण रुपमा असफल भएको आरोप लगाए । उनले कोभिड १९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आइरहँदा पनि सरकार पूरै असंवेदनशील र अकर्मण्य भएको टिप्पणी गरे । यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी गरे ।
उनले संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न सरकारसँग माग गरे । उनले महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई नेपाली कांग्रेसले साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस्