दजाकोटमा घर निर्माण हुँदै «

दजाकोटमा घर निर्माण हुँदै

आगलागीले ध्वस्त भएको गुल्मीको दजाकोट गाउँ विस्तारै उठ्न थालेको छ । २०७३ वैशाख १८ गते आगलागीले नष्ट भएका घरका परिवार यति बेला धमाधम नयाँ घर बनाउन व्यस्त छन् ।
आगलागी भएको करिब २० महिनामा १८ घरको निर्माणकार्य सम्पन्न भइसकेको छ । आगलागीमा परेका ५८ घरमध्ये १७ घर निर्माणाधीन छन् भने २३ घर बन्न बाँकी छन् ।
आगलागिमा परी गाउँका सबै ५८ घर तथा पशुपंछी जलेर नष्ट भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।
जलेर नष्ट भएका घरहरूलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरी निर्माणकार्य अगाडि बढाइएको छ । जसमध्ये अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिकस्तर भएकालाई ‘ग’ श्रेणीमा राखी काम गरिएको बडागाउँ अग्निपीडित राहात संकलन तथा वितरण समितिका कोषाध्यक्ष हरि छन्तेलले जानकारी दिए ।
‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाउने छन्तेलले बताए । सबै पीडितले भुक्तान भने तीनपटक गरी लिनुपर्नेछ । पहिलो पटक डीपीसी गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल–ढोका राखेपछि ३० प्रतिशत र सबै काम सकेपछि ३० प्रतिशत गरी सबै भुक्तान पाउने छन्तेलले बताए ।
जिल्ला प्राविधिक कार्यालयले बनाएको भूकम्पप्रतिरोधी घरको नक्साका आधारमा अग्नीपीडितले घर बनाइरहेका छन् । प्रत्येक कामको नक्सा इन्जिनियरद्वारा पास भइसकेपछि साना किसान कृषि सहकारी संस्थामा रहेको पीडितको खातामा रकम जम्मा हुने बताइएको छ । बाँकी रहेका २३ घरले भने यही फागुन मसान्तभित्र डीपीसी गरेमात्र पहिलो किस्ताको रकम पाउने समितिले जनाएको छ । यसरी पीडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपाली, विभिन्न संघसंस्था, आमा समूहद्वारा संकलन गरिएको राहात समितिले जनाएको छ ।
आगलागी भएलगत्तै जिल्ला प्रशासनले ५ हजार, जिल्ला विकास समितिले चर्पी निर्माणका लागि ५ हजार र पशु सेवा कार्यालयले गोठ निर्माणका लागि १० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
मुसिकोट नगरपालिका–४ दजाकोटको पुनर्निर्माणका लागि यस आवमा नगरपालिकाले ३० लाख विनियोजन गरको छ । प्रत्येक पीडितले एक-एक लाखका दरले प्राप्त गर्ने भने पनि यस वर्ष भने घर पूरै बनाएका ३० परिवारले मात्र रकम पाउने नगरप्रमुख सोमनाथ सापकोटाले बताए । बाँकी रहेका अन्य घरपरिवारले आगामी वर्ष रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्