Logo

स्वास्थ्य केन्द्र डाक्टरविहीन, कोभिड अस्पताल अलपत्र

अर्घाखाँची अस्पतालमा १० बेडको एचडीयु सेवा सुरु

अर्घाखाँची अस्पतालमा १० शय्याको एचडीयु सेवा सञ्चालनमा आएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाईसहित १० बेडको एचडीयु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
जिल्लामै संक्रमितको उपचार सहज गराउन छोटो समयमै भवननिर्माण गरेर एचडीयु सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । करिब ७ महिनाको अथक प्रयासबाट बनेको भवनमा कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्टल अक्सिजन सप्लाईसहित १० बेडको एचडीयु सञ्चालनमा आएको हो ।
आइतबारसम्म जिल्ला अस्पतालमा कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरी उपचार गरेको र १९ जनानिको भई डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालमा १४ जनाकोरोना संक्रमितको उपचार भइरहेको छ ।
एचडीयु बेडको सेवा सञ्चालन गर्नका लागि अर्घाखाँची सिमेन्टबाट ४ वटा ठूलो अक्सिजन, व्यवसायी बालकृष्ण भुसालबाट ८ वटा ठूला अक्सिजन सिलिन्डर प्राप्त भएको छ । सन्धिखर्क नगरपालिकाबाट ४ वटा ठूलो अक्सिजन सिलिन्डर, नेपाल पत्रकार माहासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक कुमार खनालको पहल र अर्घाखाँची–जापान समाजका अध्यक्ष बाबुराम पौडेलको पहलमा ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन’’ उपलब्ध गराउन ४ लाख ५ हजार सहयोग अस्पताललाई प्राप्त भएको छ ।
त्यससँगै नेशनल प्याथल्याव अर्घाखाँचीबाट एचडीयुमा बिरामीको धैर्यताको, मनोबलताका लागि म्युजिक जडान भएको छ। अबस्था जटिल हुँदै गहिरहेको छ, कृपया सजग सतर्क रहांै, स्वास्थसम्बन्धी मापदण्ड पालना गर्न डा. गौतमले आग्रह गरेका छन् ।
स्वास्थ्य केन्द्र डाक्टरविहीन, कोभिड अस्पताल अलपत्र
अर्घाखाँचीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा डाक्टर नहुँदा समस्या परेको छ । कोरोना महामारी बढिरहँदा दरबन्दीमा रहेका डाक्टरहरू अध्ययन बिदामा गएपछि जिल्लामा रहेका दुवै प्राथमिक स्वास्थ्य केन्द डाक्टरविहीन बनेका हुन् । छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शीतगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरू नजिकको स्वास्थ्य संस्थामार्फत उपचार लिन बञ्चित भएका छन् । छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १० जनाको दरबन्दी रहेको छ । त्यहाँ एकजना स्टाफ नर्सको पदपूर्ति छन् ।
दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएको र मन्त्रालयले बैकल्पिक डाक्टर उपलब्ध नगराउँदा अफ्ठ्यारो भएको छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले बताए । ‘कोरोना महामारीमा समेत डाक्टर नहुँदा गाह्रो भएको छ’, उनले भने, ‘गम्भीर बिरामी राख्ने अवस्था छैन ।’ बिरामी सन्धिखर्क तथा बुटवल जानबाध्य रहेको उनको भनाइ छ ।
डाक्टर अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको शीतगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए । १० जनाको दरबन्दी रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा ७ जनाको मात्र पदपूर्ति भएको छ । एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट र एक अहेबको दरबन्दी रिक्त छ ।
डाक्टर नहुँदा स्वास्थ्य केन्द्र भएर पनि नभए जस्तो भएको शीतगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद पौडेलले बताए । ‘सामान्य बिरामी मात्र हेर्ने काम भएको छ, उनले भने, ‘यो महामारीमा चिकित्सक नहुँदा पालिकालाई गाह्रो भएको छ ।’
अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकाअन्य स्टाफको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन् । सबै अधिकार डाक्टरमा निहित हुने भएकाले जोखिमका बिरामी राख्न अफ्ठ्यारो रहेको उनीहरूको भनाइ छ ।
डाक्टर नहुँदा कोभिड अस्पताल पनि अलपत्र
डाक्टर अभावमा जिल्लाका कोभिड अस्पतालहरू सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका छवटै स्थानीय तहमा रहेका कोभिड अस्पताल प्रभावकारी ढंगले चल्न सकेका छैनन् । हाल जिल्लाको पाणिनी गाउँपालिका बाहेक कुनै पालिकामा एमबीबीएस डाक्टर छैनन् । डाक्टर भएको ठाउँमा पनि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन सकेका छैनन् ।
पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनगर्न सङ्घीय सरकारले गतवर्ष नै परिपत्र गरे पनि डाक्टर अभावले सञ्चालन गर्न नसकिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए । ‘मेडिकल अधिकृतका लागि विज्ञापन गरिरहेंका छौं दरखास्त नै पर्न मुस्किल हुन्छ’, उनले भने, ‘सेवा सुविधा थप गरेर भए पनि राख्ने सोचमा छौं ।’ दुर्गम गाउँमा कोही डाक्टर आएर बस्न नमान्ने उनको भनाइ छ ।
कोभिड अस्थायी अस्पताल सञ्चालनगर्न बजेट पठाएको भएपनि डाक्टरको अभावमा यहाँ स्थानीय तहले अस्पताल सञ्चालन गर्न सकेका छैनन् । केही स्थानीयतहहरूले स्टाफ नर्स मात्रै भर्ना गरेका छन् भने कतिपयमा त्यही पनि छैनन् । डाक्टरका लागि आवेदन आह्वान गर्दासमेत डाक्टर नपाएपछि स्टाफ नर्समात्रै भर्ना गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको भूमिका स्थान नगरपालिकाका सूचना अधिकारी हरिशचन्द्र भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्