Logo

कोरोनाले मेला नलाग्दा कारोबार शुन्य


कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव बजार क्षेत्र भारतीय सिमावर्ती पुरानो बजार हो । भारतीय सिमावर्ती बजार ब्रह्मदेव भारतीय नागरिक पूर्ण निर्भरमा चल्ने गर्दछ । उक्त बजारले ३ महिने कारोबारले १२ महिना धान्ने गर्दछ । प्रत्येक वर्ष होली पूर्णिमादेखि सुरु हुने पूर्णागिरी मेला (उत्तराणियी मेला)ले उक्त क्षेत्रमा निकै चहलपहल ल्याउने गर्दछ । फागुन महिनाबाट सुरु हुने मेला असारसम्म चल्ने गर्दछ । तर विगतमा कोराना महामारीको पहिलो चरणमा लकडाउनको असर खेपेको ब्रह्मदेव बजार कोरोनाको दोस्रो लहर आएपछि पनि अछुतो रहन सकेन । भारतमा निर्भर हुने उक्त बजार कोरोनाको पहिलो चरणको महामारी पछि खुलेको बजार १७ दिन पछि बन्द भएपछि भने स्थानीय व्यापारी भने समस्यामा परेका छन् ।
“भारतका विभिन्न सिमावर्ती क्षेत्रका बजार नेपाली नागरिकको पूर्ण निर्भरमा चल्ने गर्दछन् तर ब्रह्मदेव बजार यस्तो बजार हो जहाँ भारतीय नागरिकको पूर्ण निर्भरमा बजार चल्ने गर्दछ ।” ब्रह्मदेव बजार व्यवस्थापन समितिका उपाध्यक्ष स्थानीय व्यापारी शंकर सिंह विष्टले भने, “कोरोना महामारीको सुरुवाती चरणमा पिडित भएका स्थानीय वयापारी कोरोनाको दोस्रो लहरमा झनै पीडित भएका छन्, आर्थिक आम्दानी नभएपछि स्थानीय व्यापारीले व्यवसाय फेर्न थालेका छन् ।” भारतको टनकपुरस्थित उत्तरी क्षेत्रमा पर्ने पूर्णागिरि माताको दर्शन गरेपश्चात ब्रह्मदेव बजार क्षेत्रमा अवस्थित सिद्धबाबा मन्दिर दर्शन अनिवार्य गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । जसका कारण भारतीय नागरिक तथा धार्मिक पर्यटक बाह्रै महिना ब्रह्मदेव आउने गर्दछन् र नेपाली व्यापारीले व्यापार गर्न पाउने उपाध्यक्ष विष्टले बताए ।
धार्मिक मान्यता अनुसार भारतको पूर्णागिरि दर्शनपछि कञ्चनपुरमा अवस्थित सिद्धनाथको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । तर भारतसँग जोडिएको टनकपुर नाका र बजार क्षेत्र पनि महामारीले बन्द हुँदा स्थानीय व्यापारी बैँकको ब्याज तथा ऋण तिर्न नसक्ने अवस्थामा पुगेको उपाध्यक्ष विष्टले बताए । कोरोना महामारीले गर्दा बजार बन्द भएपछि व्यवसाय डुब्ने अवस्थामा पुगेको उनले बताए । मेला अवधिमा मात्रै एक जना व्यापारीले चारदेखि सात लाखसम्म कारोबार गर्ने विष्टको भनाइ छ ।
मेलाको समयमा भारतीय शहर महाराष्ट्र, लखनउ खटिमा, वनवासालगायत भारतका विभिन्न ठाँउबाट सिद्धनाथ मन्दिरको दर्शन गर्न भारतीय नागरिक आउने गर्दछन् । यसैगरी ब्रह्मदेव बजार क्षेत्रमा १०० भन्दा बढी स्थानीय व्यापारी कानुनी रूपले बसेका छन् । तर, मेला अवधिमा त्यतिकै संख्यामा बजार क्षेत्र वरिपरि सडक पेटीमा स्थानीयले कारोबार गर्छन् । पछिल्लो समय फैलिएको कोरोना भाइरसका कारण मेला प्रभावित भएपछि जीविका चलाउनै समस्या उत्पन्न भएको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मन्दिरका पुजारी महेन्द्र उप्रेतीले बताए ।
“भारत वर्षसँग एकदमै जोडिएको क्षेत्र र भारतीयको बिना नेपाली स्थानीय व्यापारी पनि बाँच्न नसक्ने नेपालीको बिना भारतीय टनकपुर क्षेत्रका स्थानीय व्यापारी पनि बाच्न नसक्ने अवस्था छ ।” सिद्धनाथ मन्दिरका पुजारी महेन्द्र उप्रेतीले भने, “मेलाको समयमा मन्दिर भरिभराउ हुन्थ्यो भने यसवर्ष सुनसान बनेको छ, गएको वर्षपनि महामारीकै समय भएपनि लकडाउन लगाडि लाखौ मानिस मेलामा उपस्थित भएका थिए ।”
उद्योग वाण्ज्यि संघका अध्यक्ष जंगबहादुर मल्लले भने केही सातामै बन्द भएको ब्रह्मदेव बजार आर्थिक समस्यामा परेको बताए । ३ महिने व्यापारले व्यवसाय धानेका ब्रह्मदेव क्षेत्रमा स्थानीय व्यापारी बैँक तथा वित्तीय संस्थाको ऋणको चपेटामा परेको उनको भनाइ छ ।
“सानो समयमा वर्षभरीको व्यापार गर्ने ब्रह्मदेव क्षेत्रमा व्यापारीलाई आर्थिक समस्या परेको छ” मल्लले भने, “महामारीको समय भएपनि सरकारले व्यवसायीलाई राहात प्याकेज उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्