मेरो माइक्रोफाइनान्स लघुवित्तले शतप्रतिशत हकप्रदको अनुमति माग्यो «

मेरो माइक्रोफाइनान्स लघुवित्तले शतप्रतिशत हकप्रदको अनुमति माग्यो

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शतप्रतिशत हकप्रद सेयरको अनुमतिका लागि सोमबार नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ । हाल मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रद सेयर जारीपश्चात् संस्थाको चुक्ता पुँजी ६५ करोड ७८ लाख पुग्नेछ । गत कात्तिक ९ गर्ने सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारणसभाले साविकका सेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।
सोही साधारणसभाले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम संस्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक भएका सेयरधनीहरुलाई नगद लाभांश वितरण गरिसकेको छ भने बोनस सेयर वितरणका लागि नेपाल धितोपत्र बोर्डमा बोनस सेयर दर्तासमेत गराइसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट दर्ता प्रमाणपत्र प्राप्त हुनसाथ नेपाल स्टक एक्सचेन्जमा सूचीकरण तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरणका लागि दर्ता गरी सेयरधनीको खातामा बोनस सेयर प्रविष्टी गर्ने ब्यहोरा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहालबाट जानकारी प्राप्त भयो । संस्थाले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको प्रथम त्रैमासमा ४४.१० प्रतिशत नाफा वृद्धि गर्न सफल भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्