जडिबुटीको बजारीकरणमा जोड दिन माग

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सामुदायिक वन उपभोक्ता समूहमा रहेका महत्वपूर्ण जडिबुटीहरु पहिचान, उपयोगीता र बजारिकरणमा जोड दिन सरकारसँग माग गरेको छ । कोरोनाको महामारी जारी रहेको अवस्थामा अर्थतन्त्र हार्स् हुँदै गएको अवस्थामा अर्थतन्त्र सुधार गर्न जडिबुटीको बजारीकरणमा जोड दिन फेकोफनले माग गरेको हो ।
जडिबुटीबाट मुलुकको आर्थिक समृद्धि सम्भव रहेको भन्दै फेकोफनले महत्वपूर्ण जडिबुटीको पहिचान गर्दै बजारीकरणको नीति लिन वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ । कतिपय स्थानीय जडिबुटी पहिचान हुन नसक्दा राज्यका बहुमूल्य जडिबुटी खेर गइरहेको छ । कोभिडका कारण धेरैले रोजगारी गुमाइरहनु परेको अवस्था छ ।
फेकोफनकी अध्यक्ष भारती पाठकले कोभिडका कारण धेरैको रोजगारी गुमिरहेको अवस्थामा जडिबुटीको पहिचान र बजारीकरणमा सरकारले ध्यान दिन आवश्यक रहेको बताइन् । “सामुदायिक वनमा धेरै किसिमका जडिबुटी छन्, कति त पहिचान भएर जडिबाटीबाट समुदायले राम्रो आम्दानी पनि गरेका छन् त कतिपय जडिबटी महत्वपूर्ण भए पनि पहिचान हुन सकेको छैन,” उनले भनिन्, “जडिबाटीबाट आर्थिक समृद्धि र रोजगारी वृद्धि गर्न जडिबुटीको पहिचान र बजारीकरणमा जोड दिन आवश्यक छ ।”
सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सातै प्रदेशमा सरकारले पनि प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रमलाई मुख्य प्रथामिकता दिएर कार्यक्रम संञ्चालन गर्ने तयारी गरिरहेको छ । जडिबुटी खेती प्रवद्र्धनमा जोड दिँदै निर्यात बढाएर रोजगार वृद्धि तथा आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले सरकारले सातै प्रदेशमा प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रमलाई प्रथामिकता दिने लक्ष्य राखेको हो ।
पछिल्लो समय स्वदेशी जडिबुटीको माग विश्व बजारमा बढ्दै गएको अवस्थामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनको तयारी गर्नु स्वगातयोग्य भएको जडिबुटी व्यवसायीहरु बताउँछन् ।
युरोप, चीन, भारतलगायतका मुलुकहरुमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको उनीहरुको भनाइ छ । औषधि बनाउनका लागि कच्चा पदार्थको रुपमा जडिबुटी विदेश निकासा भइरहेको छ । पछिल्लो समय विदेशी बजारमा स्वदेशी जडिबुटीको माग बढिरहेको भए पनि उत्पादन कम हुँदा माग अनुसार निर्यात बढाउन नसकिएको जडिबुटी व्यवासायीहरुको भनाइ छ ।