चक्रपथ विस्तारको दोस्रो चरण प्रभावित
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्न थालेका कारण निशेधाज्ञा जारी भएपछि चक्रपथ विस्तारको दोस्रो (कलंकी–चाबहिल खण्ड) चरणको काम प्रभावित भएको छ । केही महिनाअगाडि सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर विस्तार गर्न पत्राचार गरेको भएपनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रया दिएको छैन ।
हाल साइट क्लियर हुन लागेको बाँकी रहेको छोडेर चिनियाँ निर्माण कम्पनीलाई पत्राचार गरेको भए पनि कोभिड–१९का कारण तत्काल केही औपचारिक जानकारी नदिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनले भने, “चिनियाँ निर्माण कम्पनीले कोभिड–१९ का कारण तत्काल कुनै प्रतिक्रया नदिएको जानकारी प्राप्त भएको छ ।”
कलंकी–महाराजगन्ज–सुकेधारा पुलसम्मको साइट क्लियरेन्सको काम करिब पूरा भइसकेको छ भने महाराजगञ्जको २ सय ४४ मिटर सडक खण्डको साइट क्लियर हुन बाँकी रहेको छ । सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनु पर्ने छ । विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको मुआब्जा नदिने गरी फाइल अगाडि बढाएको छ । कानुनी प्रक्रिया पूरा गर्दा आयोजनाको विस्तार ढिलाइ भएको जनाइएको छ ।
उक्त सडकखण्डको लम्बाइ ११.६ किलोमिटर छ । चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाको नेपाल सरकारले साइट क्लियर गरेर दिएपछि डिजाइन गरी विस्तार गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरिसकेको छ । उक्त सडकखण्डको करिब ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।
गत असोजमा मन्त्रालयमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगन्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको थियो ।
सडक सीमासम्बन्धी रहेको अन्यौलबारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी तत्काल नीतिगत निर्णय गर्न सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय भएको तत्कालीन अवस्थामा भए पनि प्रगति हुन सकेको छैन । गत वर्षको फागुनमा नै सरकारले साइट क्लियर गरेर विस्तारको जिम्मा दिने योजना भए पनि आन्तरिक प्राविधिक कारणले आयोजनाको कार्य प्रगति ढिला भएको छ ।
महानिर्देशक थापाका अनुसार कोभिड–१९को दोश्रो लहरको संक्रमण बढ्दै गएकोले गर्दा विदेशी परामर्श रहेका आयोजनाको कार्यप्रगति प्रभावित हुने बताए । यसरी संक्रमण दर थप विस्तार भए अन्य आयोजना पनि प्रभावित हुने उनको भनाइ छ ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्णरूपमा खाली गरेर विस्तारको काम सुरु गरिने छ । जसअन्तर्गत गत फागुनसम्म बिजुलीका पोल, रुख र खानेपानी ढललगायत अन्य अवरोध हटाएर सीमांकन गरिने लक्ष्य राखिएको भए पनि ढिलो भएको थियो ।
सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ । कलंकी–महाराजगनज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर, डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइट क्लियर’ हुनुपर्ने चिनियाँ पक्षको अडान रहेको छ ।
कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २÷२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक÷एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ । साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि विस्तारको काम अघि बढाएको थियो । कलंकी–चाबहिलपछि तिलगंगा–कोटेश्वर सडकखण्ड विस्तार गरिने मन्त्रालयले जनाएको छ ।