तत्काल स्वास्थ्य संकटकाल लागू गर्न जोड
कोरोनाको दोस्रो भेरियन्टले नेपाली जनता आक्रान्त भएका छन् । दिनहुँ नौ हजारको हाराहारीमा कोरोनाका बिरमी थपिएका छन् भने दैनिकजसो झन्डै ६० जनाको हाराहारीमा मृत्यु पनि भइरहेको छ । अहिले विशेषतः पहाडभन्दा तराईका जिल्लामा कोरोनाका बिरामीले अस्पताल भरिभराउ छन् । चिकित्सकका अनुसार कोरोनाका बिरामीले अक्सिजन र बेड नपाएर मृत्युवरण गर्नुपरेको दुःखद समाचार सुनाइरहेका छन् । यस्तो अवस्थामा स्वास्थ्य संकटकाल नै लगाउनु पर्ने चिकित्सकको भनाइ छ । कोरोना रोकथाम र नियन्त्रणका बारेमा भेरी अस्पताल, नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन, डा. राजन पाण्डेसँग कारोबारकर्मी लक्ष्मण ढुंगानाले गरेको कुराकानीको सारसंक्षेप :
स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ
डा. राजन पाण्डे
प्रमुख कन्सल्टेन्ट फिजिसियन, भेरी अस्पताल, नेपालगन्ज
बाँकेमा कोरोना भाइरसको अवस्था कस्तो छ अहिले ?
कोरोना भाइरसको महामारीको सन्दर्भमा बाँकेको अवस्था भन्नुपर्दा हामी यतिबेला उच्च उत्कर्षमा छौं । कोरोनाका बिरामी उपचार गर्ने कोभिड वार्ड मात्र होइन, अस्पतालका सबै शैया भरिभराउ भएर भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था छ । बिरामीको आउने क्रम हेर्दा फ्लो उत्तिकै छ । बेड चाहियो भनेर बिरामी आउने क्रम जारी छ । एक हप्ताभन्दा बढी समयदेखि बिरामीले बेड नपाएर पर्खेर बस्नुपरेको अवस्था छ ।
पछिल्लो अवस्था हेर्दा बाँकेमा कोरोना समुदायस्तरमा गइसक्यो, तर सरकारले अहिलेसम्म किन समुदायमा गइसक्यो भन्न नसकेको होला ?
अब सरकारले किन भन्न सकेन, त्यो आफ्नो ठाउँमा होला । तर सत्य जे हो त्यो भइसकेको छ । पीसीआर जाँच गरेका ७० देखि ८० प्रतिशत पोजेटिभ छन् । भेरी अस्पताल, नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा बिरामी आएर खचाखच भरिएका छन् । भेरीमा बेड छैन, मेडिकल कलेज कोहलपुरमा पनि उस्तै समस्या छ । सरकारले किन भन्न सकेन, मलाई थाहा भएन त्यो कुरा ।
अब यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्न सकिन्छ होला त ?
यो बेलाको व्यवस्थापन गर्ने भनेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ । घोषणा गरेर फाइदा के छ भने प्राइभेट संस्था मेडिकल कलेजलगायत सबैले अनिवार्य कोभिड बिरामी भर्ना गर्नुपर्ने । महामारीको अवधिभरि त्यो संस्थाको लाग्ने खर्च सबै सरकारले बेहोर्नुपर्ने । त्यसो गर्न सकियो भने बिरामीको थप ज्यान बच्ने सम्भावना रहन्छ । हैन भने अहिले यहाँ भेरी अस्पतालमा मान्छे मरिरहेका छन् । मेडिकल कलेजमा मरिरहेका छन् । गाउँगाउँमा मरेका छन् । त्यो अवस्था अझै भयावह हुने देखिन्छ । यो बेलाचाहिँ जसरी हुन्छ खोप ल्याएर जुन जनगणना चलिरहेको छ नि, जनगणना होइन कि घरघरमा गएर खोप लगाउने व्यवस्था गर्नुपर्छ सबैलाई । त्यो गर्न सकियो भनेचाहिँ हामी थप महामारीको जोखिमबाट मुक्ति पाउँछौं । अर्को, जो पोजेटिभ व्यक्तिहरू छन् ती खुलेआम घुमिरहेका छन् । पोजेटिभलाई अनिवार्य रूपमा १० दिनसम्म होम अथवा संस्थागत आइसोलेसन नबसी बाहिर हिँडेमा कडा सजाय, १०–२० हजार जरिवाना र ६ महिना जेल सजाय सुनाउनुपर्छ । कोरोना महामारीले भयावह स्थिति हुँदा पनि नबुझेको अनपढ व्यक्ति होइन, बुझ्ने मानिसहरू पनि सपिङ कम्प्लेक्सदेखि लिएर यताउता हिँडिरहेका छन् । त्यसले गर्दा पनि झन् भयावह भइरहेको छ ।
यहाँले जनस्वास्थ्य संकटकाल घोषणाको कुरा गर्नुभो, कोरोनाको सन्दर्भमा यस्तो खालको अभ्यास कहाँकहाँ भएको छ ?
कस्तो हुन्छ भने कतिपय कुरा आफ्नै मोडालिटी प्रयोग गर्नुपर्ने हुन्छ हामीले । शान्तिको मोडालिटीमा पनि जुन विद्रोही शक्ति र राज्य पक्षबीच समग्र शान्ति प्रक्रिया भयो नि, त्यो पनि कहींको मोडालिटी होइन, हाम्रो आफ्नै मोडालिटी हो । त्यो मोडालिटी अन्तै लागू हुन्छ । यो मोडालिटी पनि हामी आफैंले लागू गर्न सक्छौं । यस्तो बेला अन्तर्राष्ट्रिय अभ्यासभन्दा पनि हामी आफ्नो मोडालिटी बनाएर स्वास्थ्य संकटकाल घोषणा गर्न सक्छांै । यहाँको हाम्रो माटो, हावापानी, अवस्था र आवश्यकताअनुसार हामीले आफ्नो मोडालिटी तयार गर्ने हो, अरूको कपी गर्नतिर लाग्नु हुँदैन ।
उसो भए अहिले तत्काल हेर्दाखेरि बाँकेलगायतका जुन जिल्लामा बढी संक्रमण छ ती जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न सक्छ सरकारले ?
अहिले सरकारले जुन कोरोनाका हटस्पट भनेका जिल्लाहरू छन्, त्यहाँ घोषणा गर्ने । त्यसको अभ्यास चाहिँ प्राक्टिकलमा त्यहाँका प्राइभेट स्वास्थ्य संस्थाहरूले इमरजेन्सीबाहेकका सेवाहरू रोकेर कोरोना बिरामीलाई प्राथमिकता दिएर भर्ना गर्ने । गम्भीर र तत्काल गर्नुपर्ने बाहेकको अपरेसन अहिले रोकिनुपर्छ । भनेको हाइड्रोसिल, हर्निया, पत्थरीलगायतको अप्रेसन अर्को वर्ष गर्दा पनि हुन्छ । तत्काल मान्छे मर्दैन । सबैले कोभिडका बिरामी भर्ना गर्ने । त्यसपछि त्यहाँ पनि बेड भरियो भने बल्लचाहिँ समुदायस्तरमा पनि आइसोलेसन बनाउने । र, अहिले पनि हाम्रा धेरै प्राइभेट हस्पिटलहरू खाली छन्, तिनलाई प्रयोगमा ल्याउन किन नसकेको मैले बुझेको छैन यो कुरा । उहाँहरूलाई पनि जबर्जस्ती पेल्ने होइन । उहाँहरूको आवश्यकता के छ । न्यूनतम सञ्चालन खर्च कति लाग्छ । पीपीई कति चाहिन्छ । अन्य सामग्री उपकरण के चाहिन्छ । कर तिर्नुपर्ने होला, त्यसलाई मिनाहा गर्ने कुरा हुनसक्छ त्यो नीतिगत रूपमा सुधार गरेर सरकारले त्यो गर्दिनुपर्छ । त्यो किन नगरेको होला भनेर म अचम्ममा परेको छु । एकदमै अचम्मित छु । त्यो गर्नका लागि पनि संकटकाल लगाउनैपर्छ र त्यो किन गर्न सकिएन भन्ने कुरामा म एकदमै अचम्मित छु ।
त्यसो भए संकटकाल लगाउन जरुरी छ ?
एकदमै जरुरी छ । तर, अहिलेसम्म किन लगाउन सकिएको छैन त्यसमा चाहिँ म अचम्मित छु । बिरामी हिँड्दाहिँड्दै मरेका छन् । बाटोमा मरेका छन् । होम आइसोलेसनमा मरेका छन् । अस्पताल ल्याउँदाल्याउँदै मरेका छन् । अनि हामीले चाहिँ प्राइभेट संस्थाहरूलाई समझदारीमा लिएर किन गर्न सकिएको छैन, यसमा चाहिँ म आश्चर्यचकित छु । त्यसकारणले यसमा सरोकारवाला सबै गम्भीर हुनुप¥यो । यो कसैले भयावह बनाएको होइन कि भयावह भइसक्यो । यो आँधीहुरी, तुफानजस्तै हो । दुई–चार महिना अलिकति हल्का गरौं, त्यसपछि जान्छ यो आँधीहुरी । त्यो बेलामा बाँच्नुप¥यो । बाँच्नका लागि जुन हाम्रा भएका स्थायी संरचना छन्, पहिला त्यसलाई प्रयोग गर्नुप¥यो, अहिले जुन टोलटोलमा अक्सिजनसहितका आइसोलेसन बनाइरहनुभएको छ । हुन त भोलि त्यो पनि आवश्यक पर्ला, भोलि ती प्राइभेट संस्थाहरू भरिएपछि, तर पहिला यी भएका संरचनाको प्रयोग गर्नुपर्छ ।
यतिबेला अक्सिजनको पनि ठाउँठाउँमा अभाव भइरहेको छ । भेरी अस्पतालमा पनि लिक्विड अक्सिजनको ट्यांकी राख्ने कुरा छ, यसका बारेमा भनिदिनुस् न ।
यो कस्तो हो भने पेट्रोलियम पदार्थको ट्यांकीजस्तै हो । यसमा रिफिल गर्ने अक्सिजन ल्याउनुपर्छ । यो विभिन्न ठाउँमा छ । मेडिकल कलेजमा पनि छ । काठमाडांैमा ट्रमा सेन्टरमा पनि यस्तै किसिमको तयारी भइरा’ छ । तुलनात्मक हिसाबमा यो सस्तो पर्छ । यसको क्षमता धेरै भएको हुनाले सजिलो पनि हुन्छ ।
समग्रमा भन्दाखेरि अहिले बाँके जिल्लामा अक्सिजनको अभाव भइसकेको अवस्था त होइन नि ?
अक्सिजनको अभाव पनि कस्तो भा छ भने ठ्याक्कै अभावचाहिँ होइन । हामीलाई हाम्रो समस्याचाहिँ के भने हाम्रो अहिले १ सय ४२ बेड कोरोना डेडिकेटेड हो । बिरामीको चाप अत्यधिक भएपछि अहिले अढाइ सय बिरामी राख्दाखेरि अक्सिजनभन्दा पनि यसको ट्रान्सपोर्ट सिस्टमले धान्दैन ।
अनि डा.सा’प, सर्वसाधारणलाई चाहिँ के भन्न चाहनुहुन्छ यस्तो बेलामा ?
म सर्वसाधारणलाई के भन्न चाहन्छु भने नेपाली उखानै छ, महामारीमा ज्यान जोगाउनु अनिकालमा बीउ जोगाउनु । यो महामारी हो, जीउ जोगाउनुप¥यो । राज्यले के गर्ला भन्दा पनि आफू एकदमै सचेत भएर अनुशासनमा बस्ने, सामाजिक दूरीको कुरा, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किने, दुई–चार महिना बहुत गाह्रो अवस्था छ । स्यानिटाइजरको प्रयोग, मास्कको प्रयोग, यसलाई खिसी–मजाक नगर्ने । अबचाहिँ के छ भने पाइन्छ भने भ्याक्सिन लगाउनुस् । राज्यले दिन्छ वा दिन्न, किन्न पाइन्छ भने पनि खोप लगाउनुस् । दुइटा खोप लगाएका मान्छेहरू खासै मरेका छैनन् । खोप लगाएको दुई हप्तापछिका मान्छेलाई खासै असर गरेको छैन । हुन त खोप लगाएकालाई पनि कोरोना भएको छ । हाम्रै भेरीमा पनि ८० जनालाई भयो, सिकिस्त भए पनि मृत्यु नभएको अवस्था छ । सरकारले के गर्ला भन्दा पनि सम्भव भएसम्म खोप लगाउनुस्, लकडाउनको पालना गर्नुस्, आफू एकदम अनुशासनमा बस्नुस्, सामाजिक दूरीको कुरा, काम परेमा बाहेक बाहिर ननिस्किने, यो दुई–चार महिना एकदमै गाह्रो अवस्था छ । सेनिटाइजरको प्रयोग, मास्कको प्रयोगमा ध्यान दिने । यसलाई खिसी–मजाक नगर्ने, त्यसपछि सामाजिक सञ्जालमा पनि अलि सिरियस हुन जरुरी छ । पाइन्छ भने खोप लगाउनुस् । संयमित हुनुस् । लकडाउनको पालना गर्नुस्, लकडाउन धेरै समयसम्म त रहन्न । धेरै समयसम्म लकडाउन भएपछि लास हुन्छ मान्छे । अहिले दैनिक ७–८ हजार जनाको पीसीआर रिपोर्ट पोजेटिभ आइरहेको छ । यो त स्वास्थ्यमा समस्या आएपछि आफैं पैसा तिरेर जाँच गराएकाहरूको आएको हो । हजार रुपैयाँ सरकारीमा छ, २ हजार प्राइभेटमा शुल्क छ पीसीआर जाँचको । पैसा तिरेर पीसीआर गर्न नसक्ने तमाम मान्छे छन् । त्यो हुनाले म त भन्छु, त्योभन्दा १० गुणा बढी मान्छे पोजेटिभ छन् । दिनमा ८ हजारको रिपोर्ट पोजेटिभ आयो भने त्यो दिनको ८० हजारमा पोजेटिभ छ भन्छु म । यो रफ आँकडा हो । त्यसैले ज्यान जोगाउनुस्, मैले अघि पनि भनें, फेरि दोहो¥याउँछु यो उखान, ‘महामारीमा ज्यान जोगाउनु अनिकालमा बीउ जोगाउनु’ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरी महामारीको समयमा ज्यान जोगाउन म सबैलाई अनुरोध गर्न चाहन्छु ।
कोरोनाका बिरामी उपचार गर्ने कोभिड वार्डमात्र होइन, अस्पतालका सबै शैया भरिभराउ भएर भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था छ । |
कोरोना महामारीले भयावह स्थिति हुँदा पनि नबुझेको अनपढ व्यक्ति होइन, बुझ्ने मानिसहरू पनि सपिङ कम्प्लेक्सदेखि लिएर यताउता हिँडिरहेका छन् । |
जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरी महामारीको समयमा ज्यान जोगाउन म सबैलाई अनुरोध गर्न चाहन्छु । |