भेषभूषालाई संरक्षण गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचार–प्रसार गर्न कञ्चनपुर जिल्लाको उत्तरी क्षेत्र ब्रह्मदेवमा संग्रहालय निर्माण भएको छ
बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको चार करोडको लगानीमा ब्रह्मदेवमा सुदूरपश्चिमको कला संस्कृति संरक्षण गर्न उद्देश्य स्वरूप बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशभरि रहेका नौवटै जिल्लाका भेषभूषालाई संरक्षण गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचार–प्रसार गर्न कञ्चनपुर जिल्लाको उत्तरी क्षेत्र ब्रह्मदेवमा संग्रहालय निर्माण भएको छ । “भीमदत्त नगरपालिकाको ब्रह्मदेव बजारसँगै जोडिएर निर्माण गरिएको बहुसांस्कृतिक संग्रहालय निर्माण भइसकेको अवस्था छ, लगभग अब निर्माणको ८५ प्रतिशत निर्माणको काम सम्पन्न भएको छ र बाँकी १५ प्रतिशत निर्माणकार्य पनि सम्पन्न हुने चरणमा छ ।” भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथले भने, “निर्माण सम्पन्न भएको बहुसांस्कृतिक संग्रहालयभित्र सुदूर क्षेत्रको संस्कृति स्थापित गरिने छ, मुख्यतया सुदूरपश्चिम प्रदेश क्षेत्रको कला, संस्कृति, भेषभूषा, पहिरन, खानपान, रहनसहन, रीतिरिवाज तथा मासिँदै गएको परम्परालाई स्थापित गरिनेछ ।” बहुसांस्कृतिक संग्रहालय दुई तलाको निर्माण गरिएको छ । निर्माणकार्य सम्पन्न भएको अवस्था भए पनि बहुसांस्कृतिक संग्रहालयभित्र राखिने सामग्री भने राखिएको छैन । संग्रहालयको भवनको सम्पूर्ण निर्माणकार्य सकेपछि मात्रै अन्य थप काम गरिने वडाध्यक्ष नाथले बताए ।
संग्रहालयमा अहिले मार्बल बिच्छाउने, विद्युत् जडान गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको छ । संग्रहालय निर्माण सम्पन्न पश्चात भने सुदूरपश्चिम क्षेत्रमा हराउँदै गएको कला, संस्कृतिको पनि पहिचान हुनेछ । महाकाली किनारनजिकै निर्माण भएको संग्रहालय निर्माणपछि भने भारतीय पर्यटकको आकर्षणको विन्दुको रूपमा पनि हेरिएको छ ।
“महाकाली नदी किनारसँग जोडिएको भारतको टनकपुर तथा नेपालको ब्रह्मदेव बजार एकआपसमा धार्मिक रूपले जोडिएका बजार हुन्, ब्रह्मदेव बजारमा महादेवको आस्थाको केन्द्र सिद्धनाथ मन्दिर छ भने महाकाली नदीपारि टनकपुर बजारसँगै जोडिएको क्षेत्रमा सत्यदेवीको आस्थाको केन्द्र पूर्णागिरि मन्दिर रहेको छ,” वडाध्यक्ष नाथले भने, “धार्मिक पर्यटन पवद्र्धन गर्न पनि बहुसांस्कृतिक संग्रहालयले महत्वपूर्ण टेवा पुग्छ, भारतीय धार्मिक पर्यटकका लागि ब्रह्मदेव क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले पनि धार्मिक पर्यटन क्षेत्र पवद्र्धन गर्नका लागि बहुसांस्कृतिक संग्रहालयले महत्पूर्ण टेवा पु¥याउनेछ ।”
भारतको पूर्णागिरि दर्शन गरेर ब्रह्मदेवमा अवस्थित शिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक मान्यता भएकाले पनि संग्रहालयको ठूलो सम्भावना छ । संग्रहालय स्थापना पश्चात भारतीयसँगै अन्य विदेशी र आन्तरिक पर्यटकको पनि मुख्य आकर्षण बन्ने विश्वास रहेको नाथले बताए । भारतसँग सीमा जोडिएको ब्रह्मदेवमा फागुन पूर्णिमादेखि असार महिनाको पूर्णिमासम्म पूर्णागिरि मेला लाग्ने गर्छ । झन्डै चार महिना लाग्ने पूर्णागिरि मेलामा दैनिक २० देखि ३० हजारको संख्यामा भारतीय धार्मिक पर्यटक ब्रह्मदेव आउने गर्दछन् । समाज विकाससँगै सामाजिक परम्परा पनि फेरिँदै गएका छन् । पुराना संस्कार संस्कृतिको पहिचानलाई गुमाउँदै नयाँ पिडिले नयाँ संस्कृति तथा पश्चिमी संस्कृति अवलम्बन गर्दै गएको अवस्था छ । समाज रूपान्तरण भएको बेला सामाजिक मूल्य मान्यतालाई पुरानै अवस्थामा टिकाउनका लागि पनि बहुसांस्कृतिक संग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको वडाध्यक्ष नाथको भनाइ छ ।