सहरी विकासमन्त्रीद्वारा सिटीहल निरीक्षण
सहरी विकासमन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘सिटीहल’को निरीक्षण गरेका छन् ।
एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सिटीहलको शुक्रबार मन्त्री शाहले निरीक्षण गरेका हुन् । मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारीसहित सिटीहलको निरीक्षणमा गएका हुन् । निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए । २०७६ साल कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माण सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्तसम्मको समय दिइएको थियो । गोदावरी नगरपालिका–३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगंैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ र अन्य कार्यका लागि छुट्याइएको छ । ध्वनि अवशोषित, भूकम्प प्रतिरोधी सो सिटी हलमा कम्तीमा पनि ३ हजारजना सहभागी भएर बैठक गर्न सक्नेछन् । भवनभित्र २ वटा भीभीआईपी कक्ष बनाइएको छ । आयोजना निरीक्षणपछि सहरी विकास मन्त्रालयका सचिव इन्जिनियर रमेशप्रसाद सिंहले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही वैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनसाइज नाम दिइएको पनि उनले जानकारी दिए । केसी समानान्तर जेभी काठमाडांैले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैयाँ रहेको छ । आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगंैचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जा लगायतका काम बाँकी नै छन् । सिटी हल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलव ८ किलोमिटर र चक्रपथबाट ९ दशमलव ५ किलोमिटर दूरीमा रहेको छ ।