कोरोना प्रतिकार्यमा जुट्दै कर्णालीका स्थानीय सरकार
कर्णाली प्रदेशको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै ती सय शैयाको प्रदेश अस्पताल छ, तर पनि कोरोना भाइरसका संक्रमित नगरवासीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले २५ शैयाको कोभिड आइसोलेसन अस्पताल सञ्चालन गरेको छ । हाल २५ शैयाबाट सुरु गरिएको आइसोलेसनमा संक्रमित बढ्दै गएमा ५० शैया बनाउने लक्ष्य नगरपालिकाको छ । साथै अस्पताल भर्ना भएका संक्रमितलाई नगरपालिकाले नै खानाको व्यवस्था गर्ने भएको छ ।
सुर्खेतकै सिम्ता गाउँपालिकाले पनि ५० शैयाको आइसोलेसन कक्ष स्थापना गरेको छ । गाउँपालिकाको वडा–४ मा पर्ने बजेडीचौर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ५० शैयाको आइसोलेसन सेन्टरको स्थापना गरिएको छ । साथै अक्सिजन सिलिन्डर अभाव हुने भएका कारण विद्युत्बाट सञ्चालन हुने अक्सिजन मेसिनसमेत खरिद गरिएको छ । जटिल प्रकृतिका संक्रमितलाई सुविधायुक्त अस्पतालसम्म पु¥याउन गाउँपालिकाले एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । सुर्खेतकै चौकुने गाउँपालिकाले अक्सिजनसहितको पाँच शैया व्यवस्था गरेको छ भने ५० शैयासम्मको आइसोलेसन बनाउने तयारीमा छ । सुर्खेतकै गुर्भाकोट नगरपालिकाले मेहलकुनाको सिटी हलमा २५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
सल्यानको वनगाडकुपिण्डे नगरपालिकाले पनि अक्सिजनसहितको १५ शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ । आइसोलेसनमा पाँचवटा सिलिन्डर छन् । थप सिलिन्डर खरिदको प्रक्रियामा रहेको नगरप्रमुख गोविन्द पुनले जानकारी दिए । यस्तै कालिकोटको खाँडाचक्र नगरपालिकाले कोरोना संक्रमितका लागि कबर्डहलमा ४० शैयाको आइसोलेसन सेन्टर तयार गरेको छ । जटिलखालका अक्सिजन दिनपर्ने अवस्थाका बिरामी राख्ने र कबर्डहलमा सामान्य खालका संक्रमित भएर घरमा वस्न नसक्नेका लागि ४० शैयाको तयारी नगरपालिकाले जनाएको छ । कालिकोटकै तिलागुफा नगरपालिकाले पनि २५ शैया अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।
वीरेन्द्रनगर, सिम्ता, चौकुने र वनगाडकुपिन्डे, खाँडाचक्रम, तिलागुफामात्रै होइन, कोरोना महामारी सुरुभएपछि कर्णालीका अधिकांश स्थानीय तहले आइसोलेसन निर्माण थालेका छन् ।
कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्थानीय सरकार प्रतिकार्यका लागि तयारीमा जुटेका छन् । एम्बुलेन्स नभएको स्थानीय तहले एम्बुलेन्स खरिददेखि अक्सिजनसहितका आइसोलेसन कक्ष बनाउने काममा जुटेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि हाल कर्णालीका १० वटै जिल्लामा निषेधाज्ञा जारी छ । तर पनि कोरोना भाइरस संक्रमित भई अस्पताल आउने विरामीको संख्या बढिरहेको छ । अस्पतालमा शैया नपाउने अवस्था रहेको र आफ्ना नागरिकलाई आफ्नो पालिकाभित्रै उपचार गराउनका लागि आइसोलेसन कक्षदेखि अस्पताल बनाउन लागिएको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । “छन त हाम्रो पालिकाभित्र प्रदेश अस्पताल पनि छ,” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भनिन्, “तर यस्तो महामारीमा नागरिकको जीवनरक्षा गर्नु हाम्रो दायित्व सम्झेर उपचार अभाव नहोस् भन्नका लागि छुट्टै कोभिड अस्पताल सञ्चालन गरेका हौं ।”
कर्णाली प्रदेशमा ७९ वटा पालिका छन् । तीमध्ये अधिकांश पालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याइसकेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले शुक्रबारदेखि सञ्चालन गरेको कोभिड अस्पतालको उद्घाटन गर्दै नगरप्रमुख र उपप्रमुख । तस्बिर ः कारोबार