पत्रकार दिनेश दाहालसहित ८ जनाको कोरोनाबाट मृत्यु «

पत्रकार दिनेश दाहालसहित ८ जनाको कोरोनाबाट मृत्यु

पत्रकार दिनेश दाहालसहित कोरोनाबाट हालसम्म ८ जना पत्रकारको ज्यान गएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य ४० वर्षीय दाहालसहित हालसम्म ८ जना पत्रकारले कोरोनाका कारण ज्यान गएको महासंघका महासचिव रोसन पुरीले बताए ।
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारकै क्रममा कोरोनाबाट शनिबार बिहान पत्रकार दाहालको निधन भएको महासंघका महासचिव रोसन पुरीले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख गरिएको छ । दाहाल ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ ।
वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते अस्पतालमा भर्ना गरिएको थियो । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गरेका थिए भने पछिल्लो समय सिपोष्ट न्युज डटकमका सम्पादक÷प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।
महासंघ स्वर्गीय पत्रकार दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ । महासंघले शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।
६ सय ५० भन्दा बढी पत्रकार कोरोना संक्रमित भएको महासचिव पुरीले बताए । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्