अक्सिजन र बेडका लागि सोर्सफोर्स : बिरामीलाई सास्ती «

अक्सिजन र बेडका लागि सोर्सफोर्स : बिरामीलाई सास्ती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका फुलेलीस्थित अमृतकुमार ऐरलाई १३ गतेबाट ज्वरो आयो । सामान्य रुघाखोकी तथा ज्वरो आएको उनलाई तीन÷चार दिनसम्म ज्वरोले निकै सताएपछि झलारी बजारस्थित मेडिकलमा चेकजाँच गराउँदा उनलाई टाइफाइट निस्कियो । टाइफाइटको औषधी खाएर पनि निको नभएपछि १७ गते बिहान कृष्णपुर नगरपालिका गुलरियामा गएर उनले पीसीआर टेस्ट गराए । पीसीआर टेस्ट गराएका उनको २४ गते कोरोना पोजेटिभ रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि भन्दै महाकाली अस्पताल ल्याइयो । अस्पताल अबेर पुगेका अनलाई शुक्रबार राति इमरजेन्सी कक्षमा भर्ना गर्नका लागि उनका आफन्तले टिकट काट्न पाएन । अस्पतालका कर्मचारीले उनलाई राति आउने भन्दै भोलि आउनुस् भन्दै टिकट काउन्टरबाट फर्काइदिएको उनका अफान्तको गुनासो छ ।
“शुक्रबार मेरो श्रीमानको रिपोर्ट पोजेटिभ आएको थियो, रिपोर्ट पोजेटिभ आएको थाहा भएपछि अस्पताल पुग्दा राति ७ बजेको थियो ।” अमृतकी श्रीमती मीना ऐरले भनिन्, “अस्पतालमा चेकजाँच गराउनका लागि टिकट काउन्टरमा गए पनि काउन्टरबाट भने टिकर नदिइ पठाइदियो, एकैछिन मन निकै रुमलियो ।” अस्पतालका विभिन्न डाक्टरसँग सरसल्लाह गर्दा पनि कसैले सल्लाह दिएन । श्रीमानलाई अक्सिजन लगाउनु पर्ने भए पनि अक्सिजन सहितको बेड अस्पतालमा नपाएपछि थप उपचारका लागि धनगढी निर्सग अस्पतालमा लगिएको उनले बताइन् ।
निर्सगमा पनि बेड नपाएपछि पुनः महाकाली अस्पतालमा फर्केका अमृत पेसाले अटो इन्जिनियर हुन् । उनले बिहे गरेको ६ महिना पनि भएको छैन ।
अमृतसँग रहेकी उनकी श्राीमतीले पुनः फर्किएर महाकाली अस्पतालमा बेडका लागि अनुरोध गरे पनि अस्पतालका डाक्टरले भने एम्बुलेन्सबाट बिरामीलाई उर्तानै मानेनन् । अमृतकी श्रीमती मिनाका अनुसार अस्पतालले ठूलो दुव्र्यवहार गरेको र बिरामीलाई बेड भए पनि उपलब्ध गराउन नमानेको उनले बताइन् ।
“धनगढीबाट फर्किएर साढे ११ बजे महाकाली अस्पताल पुगेका हामीले बिरामीलाई १२ बजेसम्म एम्बुलेन्समै राख्नुपर्याे, डाक्टरसँग आग्रह गर्दा पनि टरेनन् ।, अक्सिजन लगाउनुपर्ने भए पनि सोर्सफोर्स लगाउनु पर्ने अवस्था थियो, हामी गरिब भयौं, नत अस्पतालले हेर्ने नत अस्पतालका कर्मचारीले नै,” उनले भनिन् ।
अस्पतालमा अक्सिजन र बेड अभाव नभए पनि किचकिच गरेर कैही छैन भनेर अस्पतालका कर्मचारीले गुनासो सुनाउने गरेको अमृतकी श्रीमतीले बताइन् । राति अबेरपछि अस्पतालमा बेड पाए पनि अक्सिजन बिनाको पाएको उनले सुनाइन ।
उनका अनुसार राति १ बजेपछि अक्सिजन पुगेपछि बिरामीले अक्सिजन पाएका थिए । पछि आएर पनि एउटै सिलिन्डरबाटै तीन जनाको पाइपमा बिरामीले अक्सिजन लिइरहेका छन् ।
बिरामीको विश्वास उठ्दै
महाकाली अस्पतालमा दैनिक सरदर १ सय ५० जनासम्मले कोरोना टेष्ट गर्न पाउँछन् । कोरोना टेष्टपश्चात् संक्रमित हुने बिरामीले भने समस्या पाउने गरेका छन् । अस्पतालमा अक्सिजन र बेड अभाव हुन थालेपछि संक्रमित बिरामी समस्यामा पर्ने गरेका छन् । योसँगै एक सातामा अक्सिजन नपाएर दुईजना शिक्षकको मृत्यु पनि भएको थियो । अस्पतालमा अहिले ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको अवस्था छ । अस्पतालसँग कोरोना अस्पताल भनेर बनाएको अस्पतालमा ५० शय्या क्षमताको शय्या भए पनि अस्पतालमा अहिले बिरामीको चाप एकदमै बढी भएको अवस्था छ ।
अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा अक्सिजन भने पनि अभाव हुँदै गएको छ । अक्सिजन नपाएर संक्रमित बिरामीहरू भने समस्यामा परेका छन् । अस्पतालले विगतमा ३० सिलिन्डर एक दिनमा खपत गर्ने गरेको थियो । अहिले अस्पतालसँग १ सय १२ सिलिन्डर भए पनि बिरामीले भने अक्सिजन अभावको समस्या खेप्नु परेको छ । अस्पताललाई अन्य क्षेत्र पनि दैनिक रूपमा ८० ओटा अक्सिजन सिलिन्डर सहयोग गर्ने गरेका छन् । कोरोना संक्रमितका आफन्तका अनुसार भने अस्पतालसँग सिलिन्डर भएको अवस्था भए पनि सिलिन्डर नपाएर संक्रमित जोखिममा परेको आरोप लगाएका छन् । तर अस्पतालले भने दैनिक रुपमा अस्तालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएकोले अक्सिजन आपूर्तिमा समस्या भएको जनाएको छ ।
“अस्पतालमा दैनिक रुपमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएको छ, अक्सिजन सिलिन्डर भए पनि भर्न जाँदाआउँदा समय खर्च धेरै हुन्छ ।” महाकाली अस्पतालका वयवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “अहिले पनि अस्पतालमा केही बिरामीले अक्सिजन सहजै पाउन सकेको अवस्था छैन, आपूर्ति ढिला हुँदा अस्पताललाई समस्या भएको छ ।” हाल अस्पतालमा ३५ जना कर्मचारी कोरोना संक्रमित भएको अवस्था छ । अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण भएका कारणले पनि समस्या उत्पन्न भएको उनको भनाइ छ ।
अस्पतालले दैनिक रुपमा पन्ध्र पन्ध्र अक्सिजन सिलिन्डर गरेर धनगढीबाट खाली सिलिन्डर भर्दै आएको छ भने बाहिर क्षेत्रबाट नेपालगञ्जबाट दैनिक रुपमा ८० सिलिन्डरसम्म अस्पताललाई सहयोगी समूहहरूले हस्तान्तरण गर्दै आएका छन् ।
अस्पताललाई आएको आर्थिक सहयोग जम्मा मात्रै
महाकाली अस्पताललाई कोरोना महामारीको समयमा विभिन्न क्षेत्रबाट आएको आर्थिक सहयोग जम्मा गर्ने काम मात्रै भएको छ । अस्पतालमा दैनिक रुपमा कोरोना महामारी संक्रमित बिरामी बढ्दै गए पनि अस्पतालले प्रदान गर्दै आएको सहयोग भने जम्मा हुँदै आएको छ ।
“अस्पताललाई दैनिक रुपमा ८० वटा अक्सिजन सिलिन्डर आवश्यक हुँदै गएको छ, यसमा ३० वटा अस्पतालको र ८० वटा सहयोगी समुहहरूको सिलिन्डर भने दैनिकजसो अस्पतालमा पुग्ने गरेका छन् ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “अस्पतालले अहिले अक्सिजन सिलिन्डर किन्ने प्रक्रिया भने अगाडि बढाएको छैन, बढाउने चरणमा अस्पताल रहेको छ, दैनिक रुपमा अक्सिजन आवश्यक भए पनि भएका अक्सिजन सिलिन्डर पनि भर्नको लागि समस्या भएको छ ।”
अस्पताले अहिले महामारीको दोस्रो लहर सुरु भएयता झण्डै ४० लाख आर्थिक सहयोग प्राप्त गरेको छ । जिल्लाको भीमदत्त नगरपालिकाद्वारा २० लाख, वेदकोट नगरपालिकाद्वारा १० लाख लगायत अन्य क्षेत्र गरेर ४० लाख रुपैयाँ जति अस्पताललाई सहयोग भएको उनले बताए । अस्पतालले दैनिक रुपमा सानोठूलो गरेर सहयोग पाउने गरेको भए पनि कोरोना संक्रमित बिरामीका लागि भने दैनिक रुपमा अक्सिजन अभाव हुँदा बिरामी समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्