Logo

निषेधाज्ञापछि निकुञ्जमा तस्करी बढ्दै


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी तस्करी बढ्न थालेको छ । कोरोना महामारीको नयाँ भेरियन्टसहित छिमेकी मुलुक भारतबाट महामारीको दोस्रो लहर नेपालमा पनि प्रवेश गरेपछि जिल्लामा १६ गते बाट निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा निषेधाज्ञा जारी भएपछि यता जिल्लासँगै जोडिएको राष्ट्रिय निकुञ्जमा चोरी तस्करी बढ्न थालेको हो । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण मझगाउँ ब्यारेकले निषेधआज्ञा सुरु भएको मितिदेखि हालसम्म निकुञ्ज क्षेत्रभित्र पसेर गैरकानुनी कार्य गर्ने मानिसहरूको सङ्ख्यामा बढोत्तरी आएको जनाएको छ ।
“राष्ट्रिय निकुञ्जको सुरक्षा क्षेत्र भनेको सधै चुनौतीपूर्ण नै रहन्छ, त्यसकारण अहिले निषेध आज्ञाको समयमा अवैधानिक तरिकाले निकुञ्ज प्रवेश गर्ने मानिसहरूको सङ्ख्या भने बढेको अवस्था छ ।” देवीदल गण मझगाउँ बयारेकका गणपती प्रमुख सेनानी सुनिल मल्लले भने, “निकुञ्ज क्षेत्र भित्र पसेर गैरकानुनी कार्य गर्ने मानिसहरूको प्रक्राउ सङ्ख्या एक साता सय जना पुगेको छ, यसरी हेर्ने हो भने पक्राउ पर्ने मानिसहरूको सङ्ख्या धेरै हो, जसले गर्दा सुरक्षार्थ खटिएको टोलीलाई पनि चुनौती थपिएको छ ।” मुलुक भर कोरोना महामारीको प्रभाव दिनप्रति दिन बढ्दै गएको छ । निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेर गैरकानुनी कार्य गर्ने मानिसलाई पक्राउ गरेपनि महामारीले गर्दा समस्या भएको छ । पक्राउ गरिएको मानिसबाट सुरक्षाथ खटिएको टोलीलाई संक्रमण हुने चुनौतीसमेत थपिएको उनले बताए ।
निकुञ्ज क्षेत्रभित्र सेनाले विभिन्न समयमा विभिन्न किसिमका गस्ती भने बढाएको छ । यसैगरी सेनाले निषेधआज्ञाको समयपछि ढक्का शिविर क्षेत्रमा चित्तलको मासु काटिरहेको अवस्थामा दुई जनालाई मासुसहित पक्राउ गरेको जनाएको छ । सेनाको देविदल गणका अनुसार बुधवार मात्रै दोधरा चाँदनी क्षेत्रमा बदेललाई पासोमा हालेर मारेर मासु काट्न लागेको अवस्थामा सेनाले प्रक्राउ गरेर निकुञ्ज प्रशासनलाई बुझाएको जनाएको छ ।
“निकुञ्जभित्र गैरकानुनी तरिकाले प्रवेश गरेर अपराधिक कार्य गर्ने मानिसहरूको सङ्ख्या एकदमै बढेको अवस्था छ । मानिस निषेधआज्ञामा खाली भएको समय हुने भएकोले निकुञ्ज क्षेत्रभित्र पनि अपराध बढेको छ ।” गणपति प्रमुख सेनानी मल्लले भने, “निकुञ्ज क्षेत्रमा अपराधिक गतिविधि बढेपछि सेनाले पनि सुरक्षा गतिविधि बढाएको छ, स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर पैदल, मोटरसाइकल, भेकल पट्रोलहरू दैनिकसँगै चौबिसै घण्टा बढाएको अवस्था छ ।”
यसैगरी यता निकुञ्ज प्रशासन क्षेत्रले पनि निषेधाज्ञापछि निकुञ्ज क्षेत्रको सुरक्षामा चुनौती थपिएको जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकी सहायक संरक्षण अधिकृत कान्ति कँडेलले निकुञ्ज क्षेत्रमा विगतका भन्दा निषेधाज्ञाको समयपछि चुनौती बढी थपिएको बताइन् ।
“निकुञ्ज क्षेत्रमा विगतको दिनमा अनुमति बिना प्रवेश गर्ने मानिसको सङ्ख्या हुने गरेको भएपनि निषेधआज्ञाको सानो समयमा अनुमति बिना प्रवेश गर्ने मानिसहरूको सङ्ख्या धेरै भएको छ ।” सहायक संरक्षण अधिकृत कान्ति कँडेलले भनिन्, “यसले गर्दा चुनौती एकदमै थपिएको छ, प्रवेश गर्ने मानिसहरूको सङ्ख्यामा भने महिलाहरू बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्