Logo

कांग्रेस बैठकमा राष्ट्रपतिको आलोचना

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको चर्को आलोचना गरेको छ । शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा सांसदहरुले राष्ट्रपतिको आलोचना गरेका हुन् । राष्ट्रपति संविधानको रक्षक बन्न नसकेको भन्दै सांसदहरूले अमूक पार्टीको नेताका रूपमा काम गरिरहेको टिप्पणी गरेका छन् ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत विफल पार्ने निर्णय गरेको छ । सांसद डिला संग्रौलाले ओलीको राजीनामा माग्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने केन्द्रीय समितिले गरेको निर्णय अनुमोदन एक सांसदले जानकारी दिए । बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमा समेत छलफल भएको छ ।
यही वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेपछि लुम्बिनीमा जस्तै फेरि आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने कांग्रेसको आशंका छ । बैठकले संवैधानिक परिषद् बहिष्कार गर्ने निर्णयसमेत गरेको छ र प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत मुलुक चलाउन खोजेको निष्कर्ष निकालेको छ । बैठकले बढ्दो कोरोना भाइरस संक्रमणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको पनि निष्कर्ष निकालेको छ ।
यसैबीच, कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावका बारेमा अहिले नै कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको पार्टी संसदीय दलको बैठक सकेर बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले यस्तो बताएका हुन् ।
उनले परिस्थिति बनेपछि मात्रै अविश्वासको प्रस्ताव दर्ता हुने बताए । “अहिले परिस्थिति बनेको छैन । त्यसैले आजको बैठकमा अविश्वास प्रस्तावबारे कुनै निर्णय भएको छैन,” उनले भने । पछिल्लो राजनीतिक परिस्थिति र वैशाख २७ गते विश्वासको मत लिन बोलाइएको बैठकका बारेमा छलफल गर्न शनिबार कांग्रेस संसदीय दलको बैठक बसेको थियोे ।
कांग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उनले बताए । बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन पहल गर्ने गत चैत २१ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै सोको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र कोभिड–१९ विरुद्धको खोप ल्याई सबै जनतासमक्ष सहज रुपमा पु¥याउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलको बैठकले कोभिडविरुद्धको खोप उत्पादन गर्ने देशलाई नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

बक्स
विपक्षमा मत दिन ह्विप जारी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
बनिबार संघीय संसद् भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले आगामी सोमबार आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । साथै बैठकले मुलुकलाई असफलताबाट बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसद्का सबै राजनीतिक दलहरुलाई पनि आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसको चैत २१ गतेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओली प्रशासनिक, संबैधानिक र राजनीतिक रुपले असफल भएको भन्दै तत्काल आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसका लागि अन्य राजनीति दलसंग छलफल परामर्श गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्