दोलखा भीमेश्वरको शिलामा १९ औं पटक पसिना «

दोलखा भीमेश्वरको शिलामा १९ औं पटक पसिना

प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा १९औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा परिवर्तन हुने धार्मिक मान्यता रहँदै आएको छ । शनिबार दिउँसो १२ बजेर १५ बजेदेखि १ः३० बजेसम्म १ घण्टा २५ मिनेट लगातार पसिना आएको थियो । यसअघि २०७७ मंसिर ९ गते पनि पसिना आएको थियो । ६ महिनाकै अन्तरालमा पसिना आएको यो पहिलो पटक हो ।
भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।
दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरूले स्थानीय रुपमा क्षमा पुजा अर्चना गरेका छन् । पसिना आउने अवधीभर स्थानीयले बाजागाजासहित क्षमायाचना गरेका थिए ।
दोलखा ३ दिनदेखि कोरोना भाइरस बढेका कारण पूर्ण लकडाउन छ । भीमेश्वर मन्दिर पनि १५ दिनयता सर्वसाधारणका लागि बन्द भए तापनि पसिना आएपछि स्थानीयको भीड लागेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लगायतका सुरक्षा प्रमुखहरू शिलामा पसिना आएको खबर प्राप्त भए लगत्तै भीमेश्वर मन्दिर पुगेका थिए ।
थप क्षमा पूजाका लागि शिलामा आएको पसिना पुछेको कपास जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृह मन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पु¥याउने व्यवस्था गरिएको छ । राजाको पाला पसिना आउँदा भने राजदरबाट क्षमा पूजाका लागि पञ्चवली पठाउने चलन थियो ।
भीमेश्वरको शिलामा पसिना आएको खबर पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी सहितको जिल्लाका सुरक्षा प्रमुखहरू सहितको गुठियार र मन्दिर व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकको निर्णयअनुसार आइतबार पसिना पुछेको कपास लिएर मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू र गुठियार महाप्रसाद लिएर राष्ट्रपति भेट्न काठमाडौं जाने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । यसअघि पनि पसिना आउँदा पसिना पुछेको कपास लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइ सकेका छन् ।
यसअघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएपछि देशमा कोरोना महामारीले १ सय १५ दिन लकडाउन भएको थियो । त्यस्तै गत मंसिरमा पसिना आएपछि देशको सत्ता साझेदारहरू बीचमा झगडा कायम रहेकोे जनविश्वास रहँदै आएको छ । भीमेश्वरलाई पसिना आउँदा राष्ट्र प्रमुखबाट क्षमा पूजा गर्ने परम्परा छ ।
यसअघि १६ औं पटक २०७० को पसिना आएपछि २०७२ वैशाखमा विनाशकारी भूकम्प गयो भने ६ महिनासम्म देशले नाकाबन्दी सहनु प¥यो । लामो समयपछि संविधान सभामार्फत संविधान पनि त्यही बेला जारी भयो ।
अघि २०६२÷०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालीन राजा वीरेन्द्र वंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुँइचालो आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको स्थानीय शिवजी प्रधानले जानकारी दिए । उनका अनुसार देशका ठूला राजनैतिक परिवर्तन ठूला घटनाको पूर्व संकेतको रूपमा भीमेश्वरको शिलामा पसिना आएको गुठियारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्