Logo

कालिमाटी तरकारी बजारको व्यापारमा कमी


सरकारले कोरोना रोकथामका लागि काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।
निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह«ास आएको हो ।
तरकारी कम आएको भएपनि मूल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्री मूल्य बढ्ने भएपनि यस पटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मूल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ ।
सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले बताए । “सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५० प्रतिशतले गिरावट आएको छ” उनले भने, “सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको छ ।”
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजन तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।
समितिले स्थानीय तहसंगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद बिक्रीका लागि भने राति १ बजेदेखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालिमाटी बजारमा राती ३ बजेदेखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए । किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रीका लागि रातको समय लम्ब्याएको भएपनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ ।
२०५२ सालदेखि कालिमाटी तरकारी बजारमा तरकारी बेच्दै आएका व्यापारी शिवकृष्ण खड्गीले हरियो तरकारी समयमै बेच्न नसक्दा बिग्रिएर कुहिने भएकाले तरकारी खरिद बिक्रीका लागि समय निर्धारण गरिनु दुखद भएको प्रतिक्रिया दिए । उनले निषेधाज्ञापछि हरियो तरकारीको मूल्यमा ५० प्रतिशतले कमि आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमि आएको बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियान स्वरुप सूचना प्रकाशन, माईकिङ गरेर भीडभाड नगर्न र दूरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्