बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा घट्दै

बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीको हिस्सा घट्न थालेको छ । ब्याजदरमा तीव्र प्रतिस्पर्धा भएसँगै बैंकहरू नाफा कमाउनका लागि अन्य व्यवसायमा लाग्न थालेको पाइएको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा वृद्धि भए पनि मुख्य आम्दानीको स्रोत रहेको ब्याज आम्दानी भने घटेको छ । २०७६ चैतसम्ममा वाणिज्य बैंकहरूले ९८ अर्ब ८ करोड २१ लाख खुद ब्याज आम्दानी गरेकोमा २०७७ चैतमा २.२१ प्रतिशतले घटेर ९५ अर्ब ९० करोड ६१ लाखमा झरेको छ ।
जबकि चालू आवको चैतसम्म बैंकहरूले ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको चैतसम्ममा बैंकहरूले ४५ अर्ब २४ करोड ७४ लाख रुपैयाँ नाफा गरेकोमा यस वर्ष १२.१४ प्रतिशतले वृद्धि भएको छ ।
बैंकहरूको नाफालाई ब्याज आम्दानीबाहेक अन्य सेवा शुल्क र कारोबारबाट हुने आम्दानीले सहयोग गरेको छ । चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरणमा बैंकहरूको ब्याज आम्दानी घट्दा अन्य आम्दानी भने शतप्रतिशतभन्दा बढीले वृद्धि भएको छ । २०७६ चैतको तुलनामा २०७७ चैतमा बैंकहरूको शुल्क तथा कमिसन आम्दानी १०.५८ प्रतिशत, व्यापार आम्दानी १५.८८, अन्य आम्दानी १०६.९२ प्रतिशतले बढेको छ ।
बैंकहरूले विभिन्न प्रकारका सेवा उपलब्ध गराएवापत लिने सेवा शुल्कलाई सेवाशुल्क तथा कमिसन आम्दानी शीर्षकमा राख्छन् । यसैगरी व्यापार आम्दानीमा एलसी, सुन कारोबारलगायतबाट प्राप्त आम्दानीलाई जनाएका हुनेछन् । यसबाहेक बैंकहरूले सेयर कारोबारलगायतबाट प्राप्त आम्दानीलाई अन्य शीर्षकमा राखेका हुन्छन् । चालू आवका सेयर बजार वृद्धि हुँदा सेयरमा लगानी गरेका बैंकहरूको आम्दानी वृद्धि भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको १ प्रतिशत बराबरको रकम सेयर बजारको दोस्रो बजारमार्फत सेयर कारोबार गर्नसक्ने कानुनी व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्थाको मुख्य काम सर्वसाधारणबाट निक्षेप संकलन गरी उनीहरूलाई नै व्यवसाय गर्नका लागि ऋण लगानी गर्नु हो । निक्षेपमा दिने र ऋण लगानीबाट प्राप्त हुने ब्याजदरको अन्तर नै बैंकहरूको मुख्य आम्दानीको स्रोत हो ।
नेपाल राष्ट्र बैंकले बैंकहरूको लिने र दिने ब्याजदरको अन्तर (स्प्रेडदर) मा ४.४ प्रतिशत सीमा निर्धारण गरिदिएको छ । जसका कारण बैंकहरूको ब्याज आम्दानी प्रभावित भएको छ ।
पछिल्लो समय बैंकहरूले एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड, चेक क्लिरिङलगायतका सेवाबाट पनि आम्दानी बढाइरहेका छन् । यसबाहेक राष्ट्र बैंकले सुन आयात तथा बजारमा बिक्री गर्ने जिम्मेवारीसमेत बाणिज्य बैंकहरूलाई दिएको छ । व्यापारीहरूले बैंकहरू सुन व्यापारी भएको भन्दै विरोध गरे पनि बैंकहरूका लागि आम्दानीको स्रोत भएको छ । यसैगरी सेयर बजारमा लगानी गरेर पनि आम्दानी वृद्धि गरेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बैंकको नाफामा ब्याज आम्दानीबाहेकको आम्दानीको हिस्सा बढ्दै गएको बताउँछन् । “चैतमा नाफा बढ्नुको मुख्य कारण बैंकहरूले खराव कर्जा उठाएर जोखिम व्यवस्थाबाट फिर्ता हुनु नै हो,” उनले भने, “यसबाहेक बैंकहरूको ब्याजबाहेकको अन्य क्षेत्रबाट हुने आम्दानी उच्च बढेको छ ।”
ब्याज आम्दानी घट्न थालेपछि विकृति बढ्दै
वाणिज्य बैकहरूको ब्याज आम्दानी घट्न थालेपछि केही बैंकले नियामकीय निर्देशनलाई पन्छाउन थालेका छन् । यसै क्रमममा चर्को ब्याजदर तोकेको एनआईसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले एक्सन लिने भएपछि ब्याजदर घटाएको छ । घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पु-याएपछि एनआईसी एसिया बैंकलाई राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ । बैंकले नियतवश नभएर प्राविधिक गल्तीले भएको भन्दै सच्याउने प्रतिबद्धता गरे तापनि पछिल्लो समय नेपाल राष्ट्र बैंकलाई पनि झुक्याएर ग्राहकसँंग विभिन्न बहानामा बढी ब्याज लिने क्रम सुरु भएको उक बैंकरले बताए । केही बैंकहरू नियामक निकायलाई नै धम्काउन सक्ने गरी प्रणालीगत जोखिम बढाएर बजारमा बैंकको बदनाम गराउन लागेको गुनासो गर्दै ती बैंकरले सञ्चार माध्यममा समाचार आएपछि मात्र छानबिन गर्ने राष्ट्र बैंकको नियममाथि पनि शंका गरे । तर राष्ट्र बैंकले बैकिङ क्षेत्रमा विकृति आए कडाइका साथ नियमन गर्ने पनि जनाएको छ ।