कारोबार मेरो पालिका
सडक र पर्यटन पूर्वाधार शैलुङको अभियान
अध्यक्ष – भरतप्रसाद दुलाल
उपाध्यक्ष – लालमाया योञ्जन
प्रमुख प्रशासकीय अधिकृत – अशोक विष्ट
प्रदेश – बागमती
जिल्ला – दोलखा
गाउँपालिका – शैलुङ
वडा – ८
गाउँपालिकाको क्षेत्रफल – १२८.६७ वर्गकिलोमिटर
डिजिटल प्रोफाइलअनुसार
घरधुरी – ६,०३६
जनसंख्या – २९,९३५
महिला – १५,३०५, पुरुष – १४,६३०
सिमाना –
पूर्व – बैतेश्वर र तामाकोसी गाउँपालिका
पश्चिम – सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलान्चोक
उत्तर – भीमेश्वर नगरपालिका
दक्षिण – मेलुङ गाउँपालिका र रामेछाप
गाउँपालिकाको विकास र सेवा गर्न जुन उत्साहका साथ साढे तीन वर्षअघि निर्वाचनमा होमिए, उनको लक्ष्य शैलुङलाई पर्यटनको केन्द्र बनाउने र अस्तव्यस्त सडक व्यवस्थित गर्ने थियो । आफ्नो लक्ष्यअनुसार नै पहिलो काम सडकबाटै सुरु गरे । सदरमुकाम जोडिएको भए तापनि पश्चिमतिरको दुर्गम गाउँ भएकाले आवतजावतको सहजताका लागि सडक व्यवस्थित बनाइयो भने मात्र अरू विकास सहजै हुन सक्छ भनेरै सडक र पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता राखेर काम भयो ।
गाउँगाउँसम्म सडक त पुगेकै थिए । तर, वक्ररेखा कोरेजस्तो मात्र, न त त्यहाँ राम्रोसँग गाडी नै चल्न सक्थ्यो, न त अर्को गाडी आइहाले पास दिने ठाउँ नै । यस्तो अवस्थामा भएका सडक फराकिला बनाउँदै १२ महिना चल्न सक्ने सडक बनाउने अठोट लिएरै काम सुरु भयो । मुडेदेखि गाउँपालिका केन्द्र बाघखोर बजारसम्म पुग्ने ८ किलोमिटर सडक पनि अस्तव्यस्त भएर वर्षात्मा चल्न छाडेको थियो ।
साबिक ८ वटा गाविस रहेको गाउँपालिकामा करिब ३५० किमि सडक तयार छ । त्यसमध्ये ७० प्रतिशत पुरानो गाविसले खनेका ट्र्याक स्तरोन्नति गरेर फराकिला र ग्रेड मिलाएका छन् । केही नयाँ ट्र्याक खोलिएका छन् । अब सडक नै खोल्नुपर्ने अवस्था सकिएको छ । गाउँपालिका केन्द्रबाट हरेक वडा कार्यालयसम्म पुग्ने र रणनीतिक महŒवका सडकहरू ७ मिटर चौडाइका फराकिला भएका छन् । अहिलेसम्म लक्ष्यअनुसार काम भएकोमा अध्यक्ष भरतप्रसाद दुलाल खुसी नै छन् ।
त्यसमाथि खुसी अघिल्लो वर्ष बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान पाइसकेका छन् । गत आर्थिक वर्षको काममा पनि प्रदेश सरकारले विभिन्न सूचकमा गरेको मूल्याङ्कनमा उत्कृष्टको निरन्तरता पाउँदा काम सोचेअनुसार नै गरेको जस्तो लागेकोमा उनी सन्तुष्ट छन् ।
गाउँपालिकाकै जीवन रेखाका रूपमा रहेको मुडेदेखि कालापानीसम्मको १६ किलोमिटर प्रदेश सरकारको सहयोगमा कालोपत्रे गर्ने गरी काम भइरहेको छ । यो सडक बन्दा शैलुङ पुग्नका लागि जुनसुकै महिना पनि सहज हुन्छ । ट्र्याक खोलिएका सडकहरू क्रमशः स्तरोन्नति गर्दै सोलिङ र ग्राभेल गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष दुलालले बताए । भीमेश्वर नगरपालिकाको मिलघुम्तीदेखि बाघखोर हुँदै सिन्धुपाल्चोक २१ किलो जोड्ने गरी रणनीतिक सडकका रूपमा राखिएको छ । यसले पुष्पलाल राजमार्गको वैकल्पिक राजमार्गको समेत काम गर्छ ।
भीमेश्वर नगरपालिकासँग जोड्ने चर्नावती खोलामा चर्नावती धाम, बालुवा खोला र सेरामा गरी चारवटा पुल बनेर नियमित यातायात सञ्चालन हुन थालेका छन् । गाईघाटमा पनि पुल निर्माणाधीन छ । यो पनि चालू आर्थिक वर्षभित्रै पूरा हुँदै छ । अब डाँसे खोला, पैती जोड्ने अँधेरी खोला, भुसाफेदाको घट्टे खोला र फस्कु खोलामा गरी पनि पुल हाल्नुपर्ने आवश्यकता रहेकाले संघीय सरकार र प्रदेश सरकारसँग स्थानीय सरकारले समन्वय गरिरहेको छ ।
सडक पूर्वाधारपछि शैलुङको प्राकृतिक सुन्दरताको मार्केटिङ गरेर पर्यटकहरू आकर्षित गर्न गाउँपालिका लागि परेको छ । शैलुङ महाभारत क्षेत्रको सबैभन्दा उच्च स्थान हो । यहाँ १ सय ८ वटाभन्दा बढी थुम्का रहेका छन् । त्यहाँसम्म पुग्न रिङ रोड निर्माण भइसकेको छ भने कालापानी, झोर र मनगाउँबाट जान ६ किलोमिटर पैदलमार्ग निर्माण भएको छ ।
पर्यटकहरूलाई शैलुङ पुग्न सहज होस् भनेर सांकेतिक चित्रहरू राखिएको छ । परम्परादेखि मेला लाग्ने गुफा, मन्दिर र थानहरूको साज सज्जा गरिएको छ । २ सय ५० केजीको घण्टा र त्रिशूल राखिएको छ । दुईवटा सानो र एउटा ठूलो बुद्धको मूर्ति र सबैभन्दा ठूलो शिवको मूर्ति स्थापना गरिएको छ ।
कालापानीमा पर्यटकहरूको सेवाका लागि होटलहरू राख्नका लागि जग्गा उपलब्ध गाउँपालिकाले गरेको छ । खानेपानी, विद्युत्लगायतका पूर्वाधार तयार गरेको छ । पर्यटकीय क्षेत्रको सरसफाइका लागि दुई जना कर्मचारी नियमित राखिएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू पनि बढ्दै गएका छन् ।
शैलुङ आलु र तरकारी उत्पादनका हिसाबले अगाडि रहेका गाउँहरू हुन् । वर्षात्मा सडक हिलाम्मे हुँदा समयमा बजार नपुग्ने र ढुवानी महँगो पर्छ । सडक व्यवस्थित हुँदा यस्ता कृषिजन्य वस्तु सहजै बजार पुग्छन् । त्यसको प्रत्यक्ष फाइदा किसानले पाउँछन् । सिजनको आलु, तरकारी, किबीजस्ता फलफूल भण्डारणका लागि ठूलो अत्याधुनिक चिस्यान केन्द्र बन्दै छ । यसको पनि सिभिलको काम पूरा भएर मेकानिकलको काम भइरहेको छ । यो अर्को वर्षसम्म तयार भई सञ्चालनमा ल्याउने योजना छ ।
त्यस्तै पाँचवटा रस्टिक स्टोर छन् । यसले बीउ राख्न किसानलाई सहज भएको छ । तीन वर्षअघिसम्म राम्रो फोनमा कुरा हुन सक्दैनथ्यो । अहिले ठाउँठाउँमा टेलिकमको टावर राखेकाले नेटवर्कमा समस्या छैन । बाघखोर बजारमा टेलिकमको तारसहितको ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सुविधा छ ।
शैक्षिक गुणस्तरीयता र स्वास्थ्य सेवामा गाउँपालिकाको जोड छ । स्वास्थ्य र सरसफाइका लागि ६ हजार घरमध्ये १ हजार घरमा धारा पुगेको छ । यो संख्या बढाउँदै लैजाने योजना छ । शैलुङ रंगशालासहितका खेल मैदान बन्दैछन् । चारवटा विद्यालयमा प्राविधिक शिक्षा अध्ययन हुन थालेको छ । आर्युवेद आरोग्य केन्द्र खुल्दै छ ।
भूकम्पले भत्केका विद्यालयहरू पुनर्निर्माण पूरा हुन लागे । गाउँपालिकाको आफ्नै कार्यालय भवन बनेको छ । चारवटा वडा कार्यालय नयाँ बनिसके । एउटा पुरानो मर्मत र तीनवटा निर्माणाधीन छन् । स्वास्थ्य चौकी भवन आधा पूरा भए आधा निर्माणाधीन छन् । शैलुङ अस्पताल बन्दै छ ।
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी कम्तीमा एक आर्थिक वर्ष बस्ने गरी व्यवस्था गरे सहज हुने उनीहरूको भनाइ छ । बीचबीचमा कर्मचारी सरुवाले पनि समयमा ठेक्कापट्टामा र भुक्तानीमा समस्या हुँदा गाउँपालिकाको काममा केही असहज छ । तथापि तीन आर्थिक वर्षको बजेटको पुँजीगत खर्च न्यूनतम राम्रै छ । आर्थिक वर्ष सकिएको दुई दिनभित्रै आम्दानी खर्च सार्वजनिक गर्न सक्नु पनि त्यसको एउटा उदाहरण हो । वनमा भएका स्रोत जडीबुटी र सुकेका, ढलेका काठको मात्रै बिक्री–वितरण गर्न सके पनि गाउँको विकासका लागि ठूलो स्रोत जुट्थ्यो, तर कानुनी रूपमा समस्या छ ।