जटिल बन्दै कोभिडविरुद्धको लडाइँ
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देशभर तीव्र रूपमा फैलिरहेको छ । हरेक दिनजसो संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । पछिल्ला केही दिनको तथ्यांकलाई हेर्ने हो भने पनि संक्रमित र मृतकको ग्राफ उकालो लाग्दै गएको छ । बिहीबारमात्रै ९ हजार ७० जना संक्रमित हुँदा ५४ जनाको मृत्यु भएको छ । अधिकांश सरकारी र निजी अस्पतालहरू संक्रमितले भरिएका छन् । अक्सिजनसहितको बेड अभावका कारण संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । कोभिडको उपचारमा अस्पतालहरूले ध्यान दिँदा अन्य बिरामीले पनि उपचार नपाउने अवस्था देखिएको छ । विगतको भन्दा यसपटकको कोरोनाको जोखिम बढी भएकाले सावधानी अपनाउन विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले सुझाव दिएका छन् । स्वास्थ्यकर्मीसमेत धमाधम संक्रमित भइरहेकाले कोभिडविरुद्धको लडाइँ निकै जटिल बन्दै गएको उनीहरूको भनाइ छ । कोरोनाविरुद्धको लडाइँमा सरकारी अस्पतालको भूमिका, कोभिडबाहेकका बिरामीलाई उपचारबाट वञ्चित हुन नदिन के गर्नुपर्ला लगायतका विषयमा केन्द्रित रहेर विभिन्न सरकारी अस्पतालका मेसु र चिकित्सकसँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सार ः
हाम्रा जनशक्तिलाई कोभिडबाट जोगाउनु पहिलो कर्तव्य हो
डा. चुमनलाल दास
मेडिकल सुपरिटेन्डेन्ट, कोसी अस्पताल, विराटनगर
कोरोनाको संक्रमण विराटनगरमा तीव्र रूपमा फैलिरहेको छ । विराटनगरमा पछिल्लो समय दैनिक २ सयभन्दा बढी संक्रमित फेला परिरहेका छन् । कोसी अस्पतालमा हरेक दिन १ सय ५० जनाको स्वाब परीक्षणका लागि पीसीआर हुने गरेको छ । पीसीआर गरेकामध्ये ५८ प्रतिशतको रिपोर्ट पोजेटिभ आउने गरेको छ । कोरोनाको पहिलो लहरका बेलामा ८ देखि १० प्रतिशतको मात्रै रिपोर्ट पोजेटिभ आउँथ्यो । यसले पनि के प्रस्ट हुन्छ भने कोरोनाको दोस्रो लहर निकै व्यापक रूपमा फैलिरहेको छ । हामीले अहिले स्वाब संकलन, पीसीआर जाँच, फिबर क्लिनिक सञ्चालन, १० बेडको आइसोलेसन बेड सञ्चालन गरेर कोभिड–१९ का बिरामीलाई सेवा प्रदान गरिरहेका छौं । कोसी प्रादेशिक अस्पतालमा कोभिडबाहेक अन्य बिरामीको पनि उपचार गरिरहेका छौं । ओपीडी सेवा पूर्ववत् रूपमै सञ्चालन भइरहेको छ । तर, विगतको तुलनामा अस्पताल आउने बिरामीको संख्या घटेको छ । विगतमा ओपीडी सेवा १ हजार २ सय जनाले दैनिक रूपमा लिने गरेका थिए । अहिले २ सय ५० देखि ३ सयको हाराहारीमा ओपीडी सेवा लिन आउने गरेका छन् । त्यसमध्ये १ सयदेखि १ सय ५० जना जति कोभिडको आशंकामा चेकजाँच गर्न आउने गरेका छन् । हामीले सबै किसिमको स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रदान गरिरहेका छौं । स्वास्थ्य सावधानी अपनाउँदा–अपनाउँदै पनि एक जना चिकित्सकसहित १३ जनामा संक्रमण भइसकेको छ । नर्स, सफाइका कर्मचारीमा पनि संक्रमण भएको छ । यसले हाम्रा जनशक्तिलाई कोभिडको संक्रमणबाट जोगाउनु चुनौती देखिएको छ । चिकित्सकसहित स्वास्थ्यकर्मी नै संक्रमित भएमा कोभिडका बिरामीका उपचारमा समस्या हुन्छ । यसले गर्दा हामीले जनशक्तिलाई जोगाउनेतर्फ ध्यान दिएका छौं । बिहीबारमात्रै पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालबाहेक ९६ बेडको कोसी कोभिड अस्पताल पनि सञ्चालन भइरहेको छ, जसमा २१ बेडको आईसीयू र २० बेडको भेन्टिलेटर सुविधा छ । ९६ बेडमध्ये करिब ६० प्रतिशत बेड भरिएको छ । बिरामीको चाप हरेक दिनजसो बढ्दै गइरहेको छ । अस्पताल भर्ना हुनेमध्ये अधिकांशलाई अक्सिजनको सपोर्ट आवश्यक पर्छ । सीमित जनशक्तिले काम गर्नुपरेको छ । कोसी कोभिड अस्पतालमा भने प्रदेशबाट पनि जनशक्ति परिचालन भएका छन् ।
प्रस्तुति : मीनकुमार नवोदित
अझै केही हप्ता कडा लकडाउन गरौं
डा. विकास गौचन
प्रमुख, प्र्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरा
कोरोनाको दोस्रो लहरले कास्कीसहित प्रदेशका ११ जिल्लामा निकै भयावह अवस्था आउँदै छ । प्रदेशमा प्रत्येक दिन कोरोनाका बिरामीको संख्या दैनिक ३ सयभन्दा बढी रहेको छ भने दैनिक करिब तीन–चार जना कोरोनाबाट मृत्यु भएका छन् । हामीसँग भएको स्रोतसाधनबाट अहिलेको अवस्थामा कोरोनाको उपचार गर्न नसक्ने अवस्थामा हामी पुग्दै छौं । सामुदायिक अस्पतालहरूमा जनशक्ति अभाव भएकाले गर्दा त्यसको प्रत्यक्ष मार गरिब तथा मध्यम वर्गका व्यक्तिहरूमा पर्ने देखिन्छ । सायद १०औं वर्ष आम्दानी गरेर बचत गरेका केही व्यक्तिको निजी अस्पतालमा उपचार गर्दा घरघडेरीसमेत सकिन सक्ने अवस्था आउन सक्छ । निजी अस्पतालहरूले भने महँगो शुल्कमा कोरोनाका बिरामीहरूको रेखदेख गरेका छन् । कोरोनाबाट बच्ने उत्तम उपाय भनेको सकभर घरमै बस्नु, अत्यावश्यक परेका बेलामा स्वास्थ्य मापदण्ड अनिवार्य मास्क, सेनिटाइजर, भौतिक दूरीलगायतका कुरालाई पूर्ण रूपमा पालना गर्नुपर्छ । कोरोनाको लक्षण देखा परेर व्यक्तिलाई श्वास–प्रश्वासमा केही समस्या भएमा, ज्वरो बढी आउनेलगायतका समस्या देखा परेमा तत्काल नजिकको अस्पतालमा लैजानुपर्छ ।
गण्डकी प्रदेशले अन्य प्रदेशसँगको सम्बन्ध कोरोना कालमा नजोड्दा राम्रो हुन्छ । आकस्मिक सेवा जुनसुकै अस्पतालले दिनुपर्ने भएकाले सेवाग्राहीलाई समयमै सेवा दिनुपर्छ । अत्यावश्यक एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, खाद्य सामग्रीका सवारी साधनबाहेक अन्य सेवा ठप्पै पार्नुपर्छ । अझै पनि घरघरमा निमोनिया भएका बिरामीहरू हुनुहुन्छ भने उहाँहरूलाई पहिचान गरेर जतिसक्दो छिटो उपचारमा ल्याउनुप¥यो, केहीलाई अक्सिजनसमेत दिनुपर्ने अवस्था आएको छ । सरकारी अस्पतालहरूलाई व्यवस्थित र समयमै लगानी गर्न सकेको खण्डमा धेरै जनता यसबाट लाभान्वित हुन्छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोनाका गम्भीर प्रकारका बिरामीहरू आउने हुँदा पोखरामा रहेको अर्को सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका ५० भन्दा बढी बिरामीहरू भएको बुझिएको छ ।
प्रदेशको कोरोना डेडिकेट अस्पतालमा हाल ५० सिट क्षमताको अस्पताल भए पनि हामीले जेनतेन कर्मचारीको अभावका बाबजुत पनि ५५ जना बिरामीलाई सेवा दिएका छौं । सक्रिय संक्रमितहरूलाई जतिसक्दो छिटो आइसुलेट गर्नुप¥यो । पोखरा–३० मा रहेको लेखनाथ सामुदायिक अस्पताललाई कोरोनाको उपचार गर्ने भन्दै कोरोना डेडिकेट संक्रामक तथा सरुवा रोग अस्पतालका रूपमा विगत १० महिनाअघि स्थापना गरे पनि हालसम्म उक्त अस्पतालबाट आईसीयू र भेन्टिलेटरको सुविधा दक्ष कर्मचारीको अभावमा सञ्चालनमा आउन सकेको छैन ।
प्रस्तुति : दीननाथ बराल
सामाजिक बानी–सुधारले मात्रै संक्रमण नियन्त्रणमा आउन सक्छ
डा. सञ्जय ठाकुर
प्रमुख, नारायणी अस्पताल, वीरगन्ज
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउनु एक अर्कासँग सम्पर्क नहोस् भन्ने उद्देश्यले नै गर्ने हो । संक्रमणको चेन ब्रेक गर्नलाई नै गर्ने हो । तर, महामारीको कुन अवस्थामा गर्ने हो, कति प्रभावकारी हुन्छ, त्यसमा भर पर्छ । सुरुवातमै गरिएको भए चाँडै संक्रमणको चेन ब्रेक हुन्छ । समुदायमा संक्रमण फैलिसकेपछि अलि गाह्रै हुन्छ । तर पनि हाम्रो बानीबेहोरामा भर पर्छ । निषेधाज्ञा लगाए पनि भोजभतेरमा गइरहने, समूहमा हिँडिरहने, बजारमा गइरहने ग¥यो भने एकअर्कामा सम्पर्क भइरहन्छ । त्यसैले कडा नगरी निषेधाज्ञाले मात्रै संक्रमणको चेन ब्रेक असम्भव हुन्छ । निषेधाज्ञाको विकल्प पनि छैन । समुदायमा संक्रमण फैलिसकेको छ । संक्रमितको चाप अत्यधिक नै छ । संक्रमितको सिटी भ्यालु हेर्दा पनि भाइरसको लोड संक्रमण छिटै सार्न सक्ने खालको देखिन्छ । जति धेरै भाइरसको लोड हुन्छ, त्यति धेरैलाई सार्न सक्छ । त्यही भएर निषेधाज्ञामा कडाइ नै गर्नुपर्छ ।
एक जनामा संक्रमण भयो भने सुषुप्त रूपमा एकदेखि तीन हप्तासम्म रहन सक्छ । तीन हप्तापछि मात्र पनि लक्षण देखाउन सक्छ । यसको मतलब त्यति बेलासम्ममा पनि भाइरस सार्न सक्छ । निषेधाज्ञा भनेको नै होम क्वारेन्टाइनलाई प्रोत्साहन गर्ने हो । किनभने घरबाट निस्किएन, अरूको सम्पर्कमा आएन भने रोग सार्न सक्दैन । यसको विकल्प पनि छैन । औषधि र खोपले पनि विश्वव्यापी रूपमा काम गरेको छैन । गत वर्षको भन्दा अलि कडा खालको भाइरस छ । गत वर्षको भाइरसले कमजोर शारीरिक अवस्था भएकाहरू, दीर्घरोगीहरू र वृद्धवद्धाहरू बढी प्रभावित भएका थिए । अहिले त युवा र बालबालिकाहरू बढी प्रभावित छन् । गत वर्ष ९०÷९५ प्रतिशतलाई भाइरसले छुँदैनथ्यो । दोस्रो भेरियन्टको भाइरस निकै खतरनाक देखिएको छ । अहिले युववर्ग पनि दुई–चार दिनमै शिथिल हुने गरेका छन् । सीधै फोक्सोमा संक्रमण हुने गरेको छ । श्वासप्रश्वासको गति रोकिन्छ । त्यही भएर निषेधाज्ञा लगाउनैपर्छ । कम्तीमा दुई हप्ता, तीन हप्तासम्म निषेधाज्ञा कडा गरियो भने यसको साङ्लो तोड्न सकिने सम्भावना हुन्छ । गत वर्ष पनि त्यही भएको हो । तर, समाजले बुझेका छैनन् । बुझे पनि प्राथमिकता केलाई दिने भन्ने हुन्छ । अहिले प्राथमिकता भनेको सम्बन्ध कायम राख्ने भन्नेलाई बढी महŒव दिएका छन् । मान्छेहरू भोजभतेरमा जाने, विवाह–समारोहमा जाने गर्छन्, तर यति थाहा छैन– ज्यान रहे त फेरि सम्बन्ध कायम राख्न सकिन्छ । यहाँ त नपढेको मान्छेले बुझेन भनौं भने पढेलेखेका व्यक्तिहरूले पनि बुझेका छैनन् । गत वर्षको अनुभवलाई हेर्दा पनि हुन्छ । बारम्बार देखिरहेकै छौं । निषेधाज्ञा र लकडाउनले नै भाइरस संक्रमण नियन्त्रणमा आएको हो । निषेधाज्ञा लगायो भने संक्रमणको दर घट्छ । फेरि खुला ग¥यो भने बढ्छ । यहाँ त खुला हुनासाथ स्वीमिङ पुल जाने, विवाह पार्टीमा जाने तथा विभिन्न सभा–सम्मेलनहरू गर्न थाल्छन् । चीनले एकैचोटि नियन्त्रणमा लियो । त्यहाँ कडा खालको लकडाउन ग¥यो । एकैपटक चेन ब्रेक ग¥यो । यहाँ समाजको बानीबेहोरा र स्वतन्त्रताको नाममा संक्रमण फैलिएको छ । प्रशासनले काम गर्ने र आमनागरिकले पनि बुझ्नुपर्छ । प्रहरी सबै ठाउँमा पुग्न सक्दैन । नागरिकले पनि आफैं संवेदनशील हुनुपर्छ ।
सीमा नाका पनि एकदमै कडा बनाउनुपर्छ । अहिले अलिकति कम भएको जस्तो लागेको छ । तर, अस्पतालमा आउने संक्रमितहरू प्रायः चिन्ताजनक अवस्थामा नै आउने गर्छन् । धेरैजसो होम आइसोलेसनमा बस्नेहरूको हेलचेत्र्mयाइँले गर्दा समस्या हुने गरेको छ । उनीहरू स्वास्थ्यकर्मी र चिकित्सकको निगरानीमा बसेनन् । आइसोलेसनमा बस्नेहरूको स्वास्थ्य अवस्थाका बारेमा ख्याल गरेनन् । त्यतिखेर लक्षण नदेखाउन सक्छ । तर, अन्तिम अवस्थामा मात्रै अस्पतालमा आउने गरेका छन् । गत वर्ष सबै स्थानीय तहहरूले बनाएका आइसोलेसनमा चिकित्सक र स्वास्थ्यकर्मीहरू खटेर उपचारसेवा पु¥याएका थिए । यस पटक आइसोलेसन र क्वारेन्टाइन नहुँदा होेम आइसोलेसनमा बस्न बाध्य भए । त्यसले पनि स्वास्थ्यमा जटिल समस्या आएर ज्यान गुमाएका छन् । तहगत सरकारहरू जिम्मेवार भइदिएनन् । गत वर्ष जस्तै हरेक स्थानीय तहहरूले आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गरेर संक्रमितलाई राखेको भए स्थानीय तहका स्वास्थ्यकर्मीहरूबाट उनीहरूले सेवा पाउँथे र ज्यान जोखिममा रहँदैनथ्यो । अहिले सर्लाहीसम्मका बिरामीहरू नारायणी अस्पतालमै आउँछन् । एक त जनशक्ति अभाव छ । त्यसमा पनि संक्रमितको चाप निकै समस्या भएको छ ।
प्रस्तुति : निरज पिठाकोटे मगर
बिरामी ढिलो आइपुग्दा समस्या जटिल भयो
डा. निराजनदत्त शर्मा
कन्सल्टेन्ट फिजिसियन, सेती प्रादेशिक अस्पताल
दिनदिनै कोभिडका बिरामी बढिरहेका छन् । बिरामीहरूलाई ग्यालरीमा समेत राखेर उपचार गरिरहेका छौं । ६० बेडको आइसोलेसन छ । १५ बेडको आईसीयू छ र तीन बेडको भेन्टिलेटर छ । हामीसँग जम्मा ७८ जना कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था छ । तर यहाँ बिरामीको संख्या निकै धेरै छ । बिरामीहरू थपिने क्रम जारी नै छ ।
संक्रमितमध्ये प्रायःलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । तीमध्ये केहीलाई निमोनियाँको समस्या छ । श्वासप्रश्वास र निमोनियाँको समस्या भएका बिरामीलाई अक्सिजन दिन आवश्यक छ । अस्पतालकै प्लान्टबाट उत्पादन भएको अक्सिजन सिलिन्डरमा भरेर संक्रमितलाई दिइरहेका छौं । अस्पतालमा मात्रै उत्पादन भएको अक्सिजन बिरामीलाई अपुग छ । सामान्य अवस्थामा रहँदा अस्पतालको नियमित उपचारमा अस्पतालको उत्पादनले अक्सिजन पुगेको थियो । अप्रेसन, इमर्जेन्सी, डेलिभरीमा पनि अक्सिजन उत्तिकै चाहिएको छ । कोरोना महामारीका रूपमा आएपछि बिरामी पनि ह्वात्तै बढेका छन् । यस्तो बेला स्वाभाविक रूपमा अक्सिजन अपुग भएको छ । सरकारले तत्काल अक्सिजनको व्यवस्थापन गर्नुपर्छ । उत्पादन र आपूर्तिभन्दा माग कैयौं गुणा बढी छ । तत्कालाई सिलिन्डरमा भरेर काम चलाइए पनि ठूलो प्लान्ट जडान गर्नु नै दीर्घकालीन समाधान हो । सरकारले प्लान्ट राख्न नै ध्यान दिनुपर्छ । प्रेसरले अक्सिजन दिनुपर्ने संक्रमितलाई सिलिन्डरको अक्सिजनले समेत नभ्याइरहेको अवस्था हो । तत्कालका लागि सिलिन्डरको अक्सिजनले काम चलाइएको भए पनि दीर्घ रूपमा उपचारका लागि ठूला अस्पतालमा अक्सिजन प्लान्ट नै आवश्यक छ । प्रेसरले दिने अक्सिजन सिलिन्डरले पुग्दैन । ठूलो प्रेसर दिन सक्ने मेसिन नै चाहिन्छ ।
खास गरेर बिरामीहरू ढिलो अस्पतालमा आउने गर्नाले अस्पतालमा आउनेजतिलाई कडा खालको संक्रमण देखिएको छ । रुघा, खोकी, टाउको दुखाइ, ज्वरो आउने जस्ता समस्या देखिएपछि घरमै बसिरहने र उपचारमा जानैपरे नजिकको मेडिकलमा गएर सामान्य चेकजाँच गरेर औषधि खाने गरेका छन् । भाइरल ज्वरो, टाइफाइडजस्ता रोगको औषधि खाइरहेको अस्पतालमा आउने अधिकांश बिरामीलाई भेट्टाएका छौं । यही कारणले श्वासप्रश्वास र निमोनियासहितका कोभिड संक्रमित आउँछन् । संक्रमितहरूलाई माइलेस, मोडरेट र सिरियस गरी तीन समूहमा विभाजन गरी उपचार गर्दैछौं । माइलेस संक्रमितलाई होमआइसोलेसनमा राखेर उपचार गरिँदैछ भने मोडरेटमा अस्पतालको आइसोलेसन र सिरियस संक्रमितलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अहिलेको अवस्थामा बिरामीहरूले धेरै औषधि खाइराख्नु पर्दैछ । रुघा, खोकी, टाउको दुखाइ, ज्वरो आउने, थकान महसुस हुने जस्ता लक्षण देखा पर्नासाथ बिरामीले मेडिकल नगएर अस्पतालमै आउन आवश्यक छ । अहिले सकेसम्म पीसीआर परीक्षण गरेर मात्रै औषधि खान जरुरी छ । नभए कम्तीमा एन्टिजेन परीक्षण गर्नुपर्छ ।
गाउँघरतिरै नजिकैको मेडिकलमा सामान्य परीक्षणबाट औषधि खाँदा तत्काललाई निको भएजस्तो भए पनि पछि त्यसले उल्टो असर गर्ने गरेको छ र बिरामी सिरियस भएर अस्पताल आइरहेका छन् । ढिलो पुग्नुले नै कोरोनाले संक्रमितलाई श्वासप्रश्वास र निमोनियाले ग्रसित बनाइरहेको छ । भारतबाट आइरहेका संक्रमितहरूलाई पनि अस्पताल पुग्न ढिलो भइरहेको छ । रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएमा तुरुन्तै अस्पताल पुगेर चिकित्सकको सल्लाहमा पीसीआर गरेर मात्रै औषधि खानुपर्छ । सही तरिकाले डाइग्नोसिस नभएर खाएको औषधिले गलत असर गर्छ ।
कोभिडका संक्रमितहरूको उपचारका लागि सरकारले पूर्वाधार, अक्सिजन प्लान्ट, जनशक्तिको क्षमता विस्तार गर्न उपयुक्त हुन्छ । पूर्वाधार, अक्सिजन प्लान्ट, जनशक्तिको क्षमता विस्तारका लागि ढिलो गर्न पनि हुँदैन । सकेसम्म कोभिडका बिरामीहरूलाई एउटै ठाउँमा ठूलो संख्यामा राखेर उपचार गर्न सक्ने गरी व्यवस्था मिलाउनुपर्छ । जसले गर्दा अक्सिजन, खाना, पानी, औषधिलगायतका सुविधाहरू सहज रूपमा बिरामीहरूलाई पुर्याउन सकियोस् ।
प्रस्तुति : मुकेश चौधरी