वृहत भर्चुअल “नेपाल स्कुल मेला २०२१” «

वृहत भर्चुअल “नेपाल स्कुल मेला २०२१”

कोरोनाको महामारीकाबीच स्कुलमा पढ्ने विद्यार्थीहरुका लागि लक्षित गरी नेपालकै पहिलो वृहत भर्चुअल “नेपाल स्कुल मेला २०२१” हुने भएको छ । स्कुल तहको प्रि– प्राइमरी तहदेखि सेकेण्डरी तहसम्मका विद्यार्थी तथा अभिभावकलाई विद्यालय शिक्षाबारे उचित सूचना तथा परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।
मेला वैशाख २३ देखि जेष्ठ २१ गतेसम्म चल्ने छ । यो अवधिमा स्कुलको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँंगको वेविनार, निःशुल्क सहभागिता, परामर्श जस्ता कार्यक्रमलगायत शिक्षा क्षेत्रका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रमहरु हुनेछ ।
कोभिड–१९ महामारीका कारण विद्यार्थी तथा अभिभावक भौतिकरूपमा स्कुल भ्रमण गर्न नसक्ने, उपयुक्त जानकारी पाउन मुस्किल पर्ने भएकाले प्याब्सन र कलेज रिडर्सको सहर्कायमा विद्यार्थी तथा अभिभावकले घरै बसेर उपयुक्त जानकारी प्राप्त गर्ने, अन्तरक्रिया गर्ने र स्कुल छान्ने, भर्ना फारम भर्न मिल्ने गरी अनलाइन शैक्षिक मेला आयोजना गरिएको हो ।
विद्यार्थी, अभिाभावक तथा सरोकारवालाले एउटै भर्चुअल भ्रमणद्वारा विभिन्न स्कुलबीच पूर्वधार, शैक्षिकगुस्तर, जनशक्ति, नतिजा, अन्तरक्रिया कार्यक्रम लगायत विषयको तुलना गरी निर्णय लिन सहयोगी हुने मेला संयोजक तथा प्याब्सन उपाध्यक्ष दिपिका थापा रिमालले बताइन् । मेलाले विद्यार्थी, अभिभावक तथा देशका उत्कृष्ट शिक्षण संस्थाहरुबीच सम्बन्धसेतुको काम गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्