मध्यभोटेकोसीको आईपीओमा आवेदन स्थगित «

मध्यभोटेकोसीको आईपीओमा आवेदन स्थगित

आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओ स्थगित भएको छ । सिन्धुपाल्चोक जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएकोले मध्यभोटेकोसीको आईपीओमा आवेदन स्थगित गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका सीईओ पारसमणि ढकालले जानकारी दिए ।
निषेधाज्ञा जारी भएपछि सिन्धुपाल्चोकमा सर्वसाधारणलाई हिँडडुलमा समस्या भएपछि आईपीओ स्थगित गर्नुपरेको ढकालले जानकारी दिए । कम्पनीले मंगलबारबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । बुधबारसम्म यो आईपीओमा प्रभावित क्षेत्र र अन्य क्षेत्रका गरी कुल ३ हजार ३६९ आवेदकबाट ५ लाख ८८ हजार ३६० कित्ता खरिद आवेदन परेको थियो ।
आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने भनिएको थियो ।
आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्