अब चरिकोटमै पीसीआर परीक्षण

दोलखा सदरमुकाम चरिकोटमा पनि कोरोना भाइरस (कोभिड–१९) परक्षणका लागि बुधबारबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएको छ । चरिकोट अस्पतालको प्रयोगशालामा पीसीआर मेसिन सञ्चालनमा आएसँगै अब पीसीआर परीक्षणका लागि अन्यत्र लैजानु पर्ने झन्झट सकिएको छ ।
अत्याधुनिक प्रविधियुक्त पीसीआर प्रयोगशालामा एक पटकमा ३२ वटा नमुना परीक्षण गर्न सकिने र तीन घण्टाभित्र रिपोर्ट दिन सकिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीले जानकारी दिए । आवश्यकताअनुसार प्रयोगशालाबाट दैनिक चार सयसम्म पीसीआर परीक्षण हुन सक्ने कार्कीले बताए ।
दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङ तथा प्रदेश सांसद पशुपति चौलागार्इं र विशाल खड्काको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगले पीसीआर प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालामा तत्कालका लागि प्राविधिक सहयोग प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले उपलब्ध गराएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
प्रयोगशाला स्थापनाका लागि संघीय सांसद तथा प्रदेश सांसदहरूको सांसद विकास कोषबाट १ करोड ४१ लाख प्राप्त भएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए । नगरपालिकाले प्रयोगशाला स्थापनाका लागि १ करोड ४६ लाखमा टेन्डर आव्हान गरेकोमा ९४ लाख ६३ हजारमा सम्झौता भै प्रयोगशाला सामग्री ल्याइएको खड्काले बताए । सांसद विकास कोषबाट प्राप्त बाँकी रकम प्रयोगशाला व्यवस्थापनमै खर्च नगरपालिकाको योजना छ ।
पीसीआर प्रयोगशाला सञ्चालनको लागि प्राविधिकहरू माइक्रो वायोलोजिष्ट नसना सुवाल र ल्याब टेक्नोलोजिष्ट (बिएमएलटी) सञ्जु थामी रहने छन् । केही दिनका लागि भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका ल्याब टेक्नोलोजिष्ट सुमन सुवेदीले समेत सहयोग गर्ने चरिकोट अस्पतालका प्रमुख डा. विनोद दंगालले जानकारी दिए ।
यसअघि दोलखाबाट संक्रमितका नमुना धुलिखेल अस्पताल र काठमाडौं पठाउने गरिएको थियो । टाढा पठाउँदा नमुनाको नतिजा आउने एक हप्तासम्म लाग्ने गरेको थियो । अब दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाट समेत चरिकोटबाटै सेवा लिन सक्ने भएका छन् ।
दोलखामा बुधबार १८ जना संक्रमित थपिए
दोलखामा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार सबैभन्दा बढी जिरी नगरपालिकामा १६ जना र बिगु तथा तामाकोसी गाँउपालिकामा एक÷एक जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दोलाखमा पनि निषेधाज्ञा
कोरोना संक्रमण बढ्दै गएपछि सथानिय प्रशासनले दोलखा जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ । बुधबार राति १२ बजेबाट बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । जिल्लामा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र बजार खोल्न पाईने र अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने जनाइएको छ । व्यापारी तथा व्यवसायीहरूले जोखिम बढ्दै गएका कारण निषेधाज्ञा गर्न माग गरेका थिए ।