हाम्रो पर्यटनको भविष्य «

हाम्रो पर्यटनको भविष्य

स्थानीय तह, प्रतिनिधिसभा तथा प्रादेशिक सभाको निर्वाचन सम्पन्न हुनुअगाडि पर्यटन क्षेत्रले जनस्तरमा जुन द्रुतताका साथ चर्चा पाएको थियो त्यसले हामी पर्यटनप्रेमीहरूमा एउटा नवीन आशा, जोस र जाँगर अभूतपूर्व रूपमा सञ्चार गराएकै हो । साथै, सुन्दर मुलुकको भविष्यको सुखद परिकल्पना पनि गराएकै हो, तर दोस्रो चरणको निर्वाचनको परिणामसमेत आइसक्दा र नयाँ सरकार निर्माणका तगाराहरू खोलिइसक्दा पनि मुलुकमा पर्यटन र नयाँ आर्थिक क्रान्तिका कुरा ओझेलमा पर्दै गइरहेको आमनेपालीले महसुुस गर्न थालिसकेका छन् । सायद यसैलाई मनन गरेर होला, पाटा नेपाल च्याप्टरले हालै सम्पन्न आफ्नो वार्षिक सभामा सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउने प्रतिबद्धता जाहेर गरिसकेको छ । वास्तवमा यो कुनै असम्भव विषय पनि होइन । नेपालमा पर्यटनको विकासका निम्ति मूलतः तीनवटा बुदाँले नयाँ सरकारको एजेन्डामा स्थान पाउनुपर्छ । पहिलो पूर्वाधार विकास, दोस्रो २०७२ को विनाशकारी भूकम्पले ध्वस्त पारेका संरचनाहरूको पुनर्निर्माण र तेस्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण साथै नेपालको पर्यटन बजारको विस्तार । यस वर्ष नेपाल पर्यटन बोर्डले पनि अभूतपूर्व रूपमा आफ्नो बजेटलाई नखुम्च्याई १ खर्ब ३७ करोड छुट्ट्याएको छ । आशा गरौँ, यो बजेट नेता र सरकारका राष्ट्रसेवकहरूलाई पर्यटन प्रवद्र्धनका नाममा विदेश भ्रमण गराउन कदाचित खर्च गरिनेछैन । यो बजेट नेपाल पर्यटन बोर्डकै नीतिअनुरूप विशुद्ध रूपमा नेपालको दुवै आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्य प्रवद्र्धनमा एवम् महत्वपुर्ण अन्तर्राष्ट्रिय पर्यटन उद्गम स्थलहरूमा डिजिटल मार्केटिङतर्फ खर्च गरिनेछ । विगत केही समयदेखि नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनको प्रचार–प्रसारतर्फ प्रशंसनीय रूपमा काम गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ । फलस्वरूप आज यहाँ विदेशी लगानीकर्ताहरूको पनि चासो बढेको पाइएको छ । नयाँ–नयाँ होटेल तथा रिसोर्टहरू पाइपलाइनमा आइसकेका छन् र कतिपय आउने क्रममा छन् । अहिले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा अस्टे«लियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब रुपैयाँ लगानीबाट टाइगर प्यालेस रिसोर्ट खुलिसकेको अवस्था छ । ३ सय डिलक्स कोठाहरू रहने यस रिसोर्टको सञ्चालनबाट त्यस क्षेत्रमा पर्यटक आगमनलगायत स्थानीय स्तरमा अनेक आर्थिक गतिविधिहरू सञ्चालन हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिममा मुलुकका अन्य ठाउँहरूमा जस्तै पर्यटनलाई प्रमुख आयस्रोतका रूपमा लिन थालिएको छ ।
वर्तमान सन्दर्भमा रेमिट्यान्सको अवस्था पनि खस्कँदो छ । वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्समा १.४ प्रतिशतका दरले ह्रास आइरहेको र वैदेशिक रोजगारीहरू पनि क्रमशः न्यून हँदै गइरहेका बेला मुलुकमा वैदेशिक मुद्रा भिœयाउने पर्यटन क्षेत्रलाई नै प्राथमिकतामा राखी सरकारको आफ्नो पञ्चवर्षीय योजना तयार हुनुपर्छ, तर खोइ सोझासाझा नेपाली जनतालाई निर्वाचनअघि आफ्ना घोषणापत्रहरूमार्फत निर्वाचनको दौडमा संलग्न विभिन्न दलका नेताहरूद्वारा सुनाइएका नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने स्वप्निल वाचाहरू ? सरकारको नयाँ पञ्चवर्षीय योजनामा पर्यटन राष्ट्रिय अर्थतन्त्रको प्राथमिकता प्राप्त उद्योगका रूपमा राखिनु अनिवार्य छ ।
विकास–निर्माणका विषयमा अहिले स्थानीय सरकारले केन्द्रीय सरकारलाई र केन्द्रले प्रादेशिक सरकारलाई औंल्याउने अभ्यास सुरु भइसकेको देखिन्छ । राजधानीले थाम्नै नसक्ने गरी भयावह ढंगले वृद्धि हुदै गइरहेको यहाँको जनसंख्या र ट्राफिकको घनत्व सरकारका निम्ति नवीन चुनौती बनिसकेका आमनागरिकले अनुभूति गरेका छन् । बाहिरी चक्रपथ र व्यवस्थित घर तथा वैकल्पिक बाटाघाटाहरूको निर्माण प्रक्रियामा शिथिलता देखिइरहेको छ । निर्माणाधीन पूर्वाधारहरूको अवस्था माकुराको जालोमा झैँ भ्रष्टाचारको जालोमा परिसकेको सञ्चारमाध्यमहरूले नियमित रूपमा प्रस्ट्याइरहेका छन् । ऐतिहासिक महŒवका हाम्रा सम्पदा स्थलहरू अझै पनि टेकाकै भरमा उभिएको हामी देखिरहेका छौँ । भीमसेनस्तम्भ अब हाम्रा सन्ततिले चित्रहरूमा मात्र देख्न पाउने हुन् कि जस्तो भान हुन थालिसकेको छ । अब हामीले बागदरवार र रानीपोखरीको अवशेष मात्र भए पनि अवलोकन गर्न पाउने हो कि होइनौँ भन्न सकिने स्थिति छैन । १० वर्षपछि काठमाडौँका केही व्यस्त ठाउँमा ट्राफिक बत्तीहरू जडान हुन लागेको समाचारले आशाका केही किरणलाई निश्चित रूपमा जगाएको छ । सडकहरूको मर्मत–सम्भार व्यस्त समयमै गर्न लगाइन्छ, जसले गर्दा समस्याको समाधान जटिल ढंगले गर्न खोजिएको आभास हुन्छ । सम्बन्धित निकायको ध्यान यता पनि जाओस् । सुशासन भनेको करदाताहरूको भलाइ र हितलाई व्यवहारमा सम्मान गर्नु पनि हो । आदेश, टिप्पणी, सदर एवम् बदरमा देश अघि बढ्दैन । बाटोमा हिँड्ने बटुवा होस् या गुडिरहेको सवारी साधन होस्, आमनागरिकले उपयोग गर्ने बाटोघाटोको सुविधालाई चुस्त राख्न सरकारले ध्यान दिनुपर्छ ।
अब ल्याइने आर्थिक क्रान्तिका लागि हाम्रो पर्यटन उद्योग नै यथेष्ट छ । यदि यसका लागि दूरगामी दृष्टिसहित सरकारले आफ्ना विकास–निर्माणका कार्यक्रमहरूको योजनाबद्ध रूपमा कार्यान्वयनको पक्षमा काम गरेको खण्डमा अन्यथा समृद्ध नयाँ नेपालको हाम्रो सपना तुहिएर जान सक्ने हुन सक्छ । उपत्यकाका प्रमुख मेयरहरूले त मोनोरेल र केबुलकारसमेतको महŒवाकांक्षी पूर्वाधारहरूमा आफू केन्द्रित रहने समेत सार्वजनिक गरेका छन्, तर उपत्यकाको फोहोर–मैला व्यवस्थित हुन सकेको छैन । मेलम्चीको पानी हालसम्म पनि दिवास्वप्न नै रहिरहेको छ । राजधानीवासीका लागि नुन, बेसारदेखि लिएर भान्सामा चाहिने झन्डै सबै थोकका लागि हामी परमुखी बन्दै गइरहेका छौँ । कृषियोग्य जमिनको प्लटिङ रोकिएको छैन । खोलानालाहरू दुर्गन्धित अवस्थामै छन् । अब यो अवस्थामा सुधार आउँदैन भने पर्यटनलाई कसरी अघि बढाउने र यसलाई आर्थिक गतिविधिको स्रोत बनाउने ? घरमा फोहोरैफोहोर र हरेक वस्तु अव्यवस्थित अवस्थामा रहेको खण्डमा पाहुनालाई के स्वागत गर्नु ? सन् १९९८ देखि नै हामी यही कुरा भन्दै आइरहेका छौँ, तर हालसम्म सुधारको झिनो संकेत पनि देखा परेको छैन ।
अब नयाँ सरकारको गठनलगतै मुलुकको कर्मचारीतन्त्रमा पनि आमूल परिर्वतन भई नै हाल्छ । भएका वा हुँदै गरेका धेरैजसो निर्माणाधीन कामहरू जे–जस्तो अवस्थामा रहे पनि तिनको पुनरावृत्ति हुने क्रम फेरि सुरु हुनेछ । हामीले कहिलेसम्म सिसिफसको नियतिको सिकार भइरहनुपर्ने हो ?
नेपाल वायुसेवाको कुरा गरौँ । राष्ट्रिय ध्वजावाहकका रूपमा नेपाल वायुसेवाले राष्ट्रलाई पु¥याएको सेवाको कुनै तुलना हुन सक्दैन । अत्यन्तै रुग्ण अवस्थामा रहँदासमेत यसले आफ्नो प्रतिष्ठालाई यथावत् नै कायम राख्न सफल रह्यो । अन्तर्राष्ट्रिय हवाई सेवाहरूसँगको कठोर प्रतिस्पर्धा हुँदाहुँदै पनि नेपाल वायुसेवाले आफ्नो बजार गुमाएको छैन । नयाँ–नयाँ परियोजनाहरू ल्याएर निगमले आफूलाई सशक्त बनाउँदै लगिरहेको दृष्टान्त हामीसँग छन् । अब निगमले दुईवटा ठूला जहाज ल्याएपछि बहुसंख्यक नेपालीको बसोबास भएको अस्ट्रेलिया को सिड्नी पनि आफ्नो नयाँ गन्तव्य बनाइने घोषणा त गर्यो तर निगमले पछि मात्र थाहा लाग्यो, अस्ट्रेलिया सँग हाम्रो एयर सर्भिस अग्रिमेन्ट (एएसए) भएकै रहेनछ । सरकारको मुख ताकेर मात्र निगमले के गर्ने, के नगर्ने ?
समय परिवर्तनशील छ । विश्व पर्यटन मानचित्रमा नेपालले आर्जेको प्रतिष्ठा र सम्मानलाई अझ मुखरित पार्दै हाम्रा प्रत्येक पर्यटकीय सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्दै जानु आजको आवश्यकता हो । हामीसँग रहेको अनुपम प्रकृति र संस्कृतिको दोभानलाई परिष्कृत गर्दै यिनको समुचित विकास गरिनुपर्छ । नत्र भने पर्यटन उद्योगले सिर्जेका रोजगारीका अनगिन्ती अवसरलगायत पर्यटनबाट मुलुकले कमाउने वैदेशिक मुद्रा आर्जनमा कल्पनातीत रूपले ह्रास आउँदै जानेछ र हामी फेरि विश्वसमक्ष अत्यन्तै गरिब र निरीह मुलुकका रूपमा स्थापित हुन सक्ने सम्भावना धेरै टाढा नरहला ।

प्रतिक्रिया दिनुहोस्