Logo

प्राधिकरणद्वारा तालिम केन्द्रमा आइसोलेसन केन्द्र बनाउन प्रस्ताव

कोभिड–१९ बाट संक्रमितको उपचारका लागि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रलाई आइसोलेसन केन्द्र निर्माणका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ ।
गत वर्ष पनि कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुवेइ प्रान्तबाट नेपालीलाई स्वदेश फर्काएर क्वारेन्टाइन बनाई १४ दिन राखिएको तालिम केन्द्रलाई अहिले पनि प्राधिकरणले आइसोलेसन केन्द्र बनाउन प्रस्ताव गरेको हो । तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । शाक्यका अनुसार, प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिंँदै कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो । “तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेड राख्न सकिन्छ, गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ,” उनले थपे, “तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरूमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छ ।”
तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन्, त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन् त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ ।

अक्सिजन उद्योगलाई निरन्तर बिजुली
नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । कार्यकारी निर्देशक शाक्यले बत्ती गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगलाई खबर गरिएको बताए । उनले भने, “विद्युत् वितरण केन्द्रलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौं, केन्द्रहरूले आफू मातहत रहेका अक्सिजन उद्योगहरूलाई सोहीअनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन् ।”

प्रतिक्रिया दिनुहोस्