Logo

जुम्लामा थप ६ जनासहित संक्रमित संख्या ७२ पुग्यो


जुम्लामा बिहीबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा १८ जनाको पीसीआर जाँच गरिएकामा ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । यो सँगै जुम्लामा कोरोना पोजेटिभ हुनेको संख्या ७२ जना पुगेको छ । जसमा ११ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बाँकी संक्रमित होम आइसोलेसनमा बसेका छन् । जुम्लामा दैनिक ६ जनाको दरले संक्रमित बढिरहेका छन् ।
अस्पतालमा श्वास–प्रश्वासका बिरामीलाई मात्र भर्ना गर्ने भनिएपछि लक्षण देखाएका संक्रमित पनि घरमै बस्न बाध्य छन् । जुम्लाका आठै स्थानीयतहले ८ देखि १० बेड आइसोलेसन तयार गरे पनि अक्सिजन सिलिण्डर, चिकित्सक नहुँदा समस्या भएको छ । जसका कारण गाउँ–गाउँमा भएका संक्रमितहरू असुरक्षित रूपमा घरमा बस्न बाध्य छन् ।
साथै जुम्लामा बुधबार रातिदेखि लागू गरिएको निषेधाज्ञा प्रभाव राम्रो परेको छ । निषेधाज्ञाको पहिलो दिन जुम्ला सदरमुकाम सुनसान भएको थियो । बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा अत्याआबश्यकका सेवासहित बजार खुले पनि दिनभरि बजार पूर्णरूपमा ठप्प भएको थियो ।
निषेधाज्ञालाई पूर्ण कार्यान्वयन गरी दोस्रो लहरको संक्रमणबाट आफू बच्न र अरूलाई बचाउन महत गर्नसमेत जिल्ला प्रशासन कार्यालय जुम्लाले अपिल गरेको छ ।
त्यसका साथै जुम्लाका आठै स्थानीयतहले कोरोना संक्रमित बोक्न एम्बुलेन्स भाडामा लिनका लागि जिल्ला विपद व्यवस्थापन समितिको खातामा १÷१ लाख जम्मा गर्ने निर्णय गरेपनि आज जम्मा नभएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।
उनका अनुसार वैशाख १८ गते बसेको डिसिसिएमसीको बैठकबाट आठै तहले ३ दिनभित्र एम्बुलेन्स भाडामा लिन १÷१ लाख जम्मा गर्ने निर्णय भएको रकम जम्मा नभएको हो । जसका कारण गाउँमा संक्रमित भइरहेको र ओसारपोसार गर्न मुस्किल भएको समेत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्