Logo

बढी मूल्यको छडमा ठगिँदै उपभोक्ता


बाराको ठूला बजारका हार्डवेयरले विभिन्न कम्पनीको फलामे डण्डीमा कम तौलको नक्कली ट्याग स्टिकर लगाई उपभोक्ता ठग्ने गरेका छन् ।
हार्डवेयरले उद्योगको तौल ट्याग स्टिकर हटाई नक्कली स्टिकर प्रयोग एकदेखि सवा सय केजीको फलामे डण्डीमा ६ देखि १५ किलोसम्म ठगी गर्ने गरेको पाइएको छ ।
सिमरा, जितपुर, निजगढ, कोल्हबी, कलैयालगाएतका बजारमा रहेका हार्डवेयरले घर निर्माण लगायतमा साना पूर्वाधार निर्माणमा अत्याधिक प्रयोग हुने ७ देखि २४ मिलिमिटर साइजको फलामे डण्डीमा तौल बढी लेखिएको नक्कली ट्याग देखाई उपभोक्तालाई ठग्ने गरे पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वीरगन्ज कार्यालयको ध्यान पुग्न सकेको छैन ।
प्रतिकेजी ८० रूपैयाँबाट छडको मूल्य सय रूपैयाँसम्म बढेसँगै हार्डवेयरले अत्याधिक मुनाफा लिने लोभमा छडमा नक्कली तौल ट्याग लगाउन थालेका हुन् ।
उद्योगबाट खरीद गरी ल्याएको छड गोदाममा राखेर हार्डवेयरले वास्त्विक तौलको ट्याग हटाएर बढी तौलको नक्कली ट्याग लगाएर बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ ।
बारा जिल्लासमेत कार्य क्षेत्र रहेको नापतौल तथा गुणस्तर विभाग वीरगन्जले फलामे छडको गुणस्तरसँगै तौलमा समेत ठगी गर्ने गरेको उजुरी परेपनि कारवाहीका लागि अनुगमन भएको छैन ।
उद्योगको जस्तै दुरुस्तै नक्कली स्टिकरमा बण्डलको सुता अनुसारको तौल, सिरियल नम्बर, गुणस्तर चिन्ह, उद्योगको लोगो र नाम भारतीय ५ रूपैयाँका दरले सयौको संख्यामा हार्डवेयरल मगाउने र बण्डल अनुसार लगाएर उपभोक्तालाई होम सर्भिस भन्दै घरैसम्म निःशुल्क ढुवानी दिएर लोभमा पार्दै ठगी गर्ने गरेका छ ।
सयौ साना ठूला उद्योग तथा एक हजार भन्दा बढी हार्डवेयर सञ्चाीलत जिल्लामा नापतौल तथा गुणस्तर विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यालय छैन । दशकौंदेखि उक्त कार्यालयको क्षेत्राधिकार बारा तोकिए पनि उपस्थिति नजनाएको उपभोक्ता मञ्च बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्