निषेधाज्ञासँगै राजस्व संकलन घट्दै «

निषेधाज्ञासँगै राजस्व संकलन घट्दै


कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाको असर राजस्व संकलनमा समेत देखिन थालेको छ ।
निषेधाज्ञा अघि प्रत्येक दिन ३ देखि ५ अर्ब बराबरको राजस्व संकलन हुने गरेकोमा त्यसयता २ देखि ३ अर्बमा खुम्चिँदै गएको छ । बजेट निर्माणको स्रोत जुटाउने समयमा राजस्व संकलनमा यसरी कमि आउँदा बजेट निर्माणमा समेत स्रोत व्यवस्थापनका लागि चुनौती देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, मंगलबारसम्ममा कुल राजस्व संकलन ७ खर्ब ३४ अर्ब १० करोड ७३ लाख रुपैयाँ अर्थात ७२.५६ प्रतिशत भएको छ । निषेधाज्ञाको अघिल्लो दिन १५ गते कुल राजस्व संकलन ७ खर्ब २२ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ अर्थात लक्ष्यको ७१.४४ प्रतिशत भएको थियो ।
उक्त दिन मात्रै ४ अर्ब ७८ करोड ९८ लाख संकलन भएको राजस्व निषेधाज्ञाको पहिलो दिन बिहीबार नै २ अर्ब ७ करोड १२ लाखमा झरेको थियो । त्यसपछि क्रमशः १७ गते १ अर्ब २९ करोड ४२ लाख, १८ गते जम्मा १९ करोड १२ लाख, १९ गते ३ अर्ब १४ करोड ९६ लाख, २० गते १ अर्ब ३१ करोड २७ लाख तथा २१ गते ३ अर्ब २४ करोड १६ लाख रूपैयाँमा सीमित भएको थियो । त्यसैगरी वैशाख २२ मा ७ अर्ब ३८ करोड ११ लाख संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
निषेधाज्ञा अघिका ६ दिनको तुलना निषेधाज्ञा पछिको सोही अवधिमा राजस्व संकलनमा ६ अर्ब ८ करोड ३९ लाख रूपैयाँको कमि आएको तथ्यांकले देखाएको छ । वैशाख १० देखि १५ गतेसम्ममा १७ अर्ब ३४ लाख ४५ हजार संकलन भएको राजस्व निषेधाज्ञापछि २२ गतेसम्ममा ११ अर्ब २६ करोड ११ अर्ब २६ करोड ६ लाख रुपैयाँमा सीमित रहेको हो ।
उपत्यकामा २२ गते सम्म भनिएको निषेधाज्ञा पुनः एक हप्ता लम्बिएको छ । यसरी नै निषेधाज्ञा लम्बिँदै जाने हो भने लक्ष्य अनुसार राजस्व संकलन गर्न मुस्किल पर्ने अर्थविद् डा. शान्तराज सुवेदी बताउँछन् ।
अहिले सामानको उपभोग तथा आयात सामान्य रहेपनि निषेधाज्ञा लम्बिदै जाँदा त्यसमा असर पर्ने उनको तर्क छ । “लकडाउन लम्बिँदै गएपछि मानिसहरुले सामानको उपभोग पनि कम गर्दै जान्छन्,” उनी भन्छन्, “विकाश निर्माणका कामहरु पनि ठप्प हुन्छन्, आयात घट्छ । ठेक्का पट्टाहरु पनि बन्द हुन्छन् । उद्योगधन्दाहरु पनि बन्द हुँदा राजस्व संकलनमा प्रभाव पार्ने आंकलन गर्न सकिन्छ ।” चैत मसान्तसम्म उठ्नुपर्ने लक्ष्यको ९५ प्रतिशत उठेपनि वैशाख आधाबाट लकडाउन सुरू भएकोले यसको प्रत्यक्ष असर राजस्वमा पर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्