Logo

दैनिक ३ हजार रूपैयाँ खर्च

भारतबाट आउने यात्रुका लागि होटेलमा क्वारेन्टाइन


भारतबाट हवाई मार्गबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्नका लागि सरकारले आठ वटा होटललाई अनुमति दिएको छ ।
पर्यटन मन्त्रालयले आठ होटेलका ४ सय २८ कोठालाई क्वारेन्टाइनको रुपमा उपयोग गर्नका लागि अनुमति दिएको हो । मन्त्रालयका अनुसार, अनुमतिमा पाउनेमा गोदावारीको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटल, एयरपोर्टको एयरपोर्ट होटल, गौशालका आमादब्लम होटल, रिडर्स इन, आनन्द आश्रम र जगातीका फार्म हाउस रिसोर्ट तथा ए वान रिसार्ट छन् । गोदावारीको भ्यू भृकुटीमा ९१ वटा, गुहेश्वरीको माधव होटलमा ६०, एयरपोर्टको एयरपोर्ट होटलमा ८०, गौशालका आमादब्लम होटलमा ६३, रिडर्स इनमा ३०, आनन्द आश्रम र जगातीका फार्म हाउस रिसोर्ट २४ तथा ए वान रिसोर्टका १० कोठा छन् ।
सरकारले कोरोना महामारीको जोखिम उच्च भएसँगै रोकथाम तथा नियन्त्रणका लागि आन्तरिक तथा बाह्य उडानमा रोक लगाएको छ । तर नेपाल–भारतबीच भएको एयर ववल सम्झौता अनुसार सरकारले सातामा २ वटा उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यसरी भारतबाट आउने यात्रुका लागि होटेल क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।
एयर ववल सम्झौता अनुसार यात्रुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ । यात्रुहरु क्वारेन्टाइनमा बसे नबसेको दैनिक अनुगमन विभागीय मन्त्रालय र नेपाल प्रहरीको संयुक्त टोलीले गर्नेछ । यसरी हुने उडानमा पीसीआर रिपोर्ट पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिइ यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टाइन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने निर्णयमा उल्लेख छ । आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्दार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी मन्त्रालयले उडान अनुमति जारी गर्ने छ । चार्टर्ड र उद्दार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरुको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।
भारतले गत वर्ष कोरोना माहामारीको समयमा आफ्नो देशमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएसँगै विभिन्न देशसँग एयर ववल सम्झौता सुरू गरेको थियो । जसअन्तर्गत भारत र विभिन्न देशबीच हुने हवाई उडान सुचारु गरिएको थियो । भारतले हालसम्म यस्तो सम्झौता नेपालसहित २८ देशसँग गरिसकेको छ । उक्त सम्झौता अन्तर्गत दुवैै देशका राष्ट्रिय ध्वजावाहक विमानले मात्र उडान गर्न पाउँछन् ।
सरकारले होटल क्वारेन्टाइनका लागि हरेक दिन प्रतिव्यक्ति ३ हजार खर्च तोकेको छ । एकजना व्यक्ति कम्तीमा १० दिन होटल क्वारेन्टाइन बस्दा ३० हजार रुपैयाँ लाग्ने छ । सो शुल्कमा यात्रुलाई विमानस्थलबाट होटलसम्मको पिकअप सुविधा बस्न र खाना समावेश छ । खानामा ब्रेकफास्ट, लञ्च र डिनर समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्