अस्पतालको जेनेरेटर रक्सी उद्योगमा प्रयोग !

रुकुम-सरकारी स्वास्थ्य संस्थाको जेनेरेटर मिलोमतोमा निजी रक्सी उद्योगमा प्रयोगमा ल्याइएको छ । जेनेरेटर नहुँदा स्वास्थ्य संस्थाले एक्सरे सेवासमेत प्रवाह गर्न सकेको छैन ।
अस्तपालका कर्मचारी, रक्सी उद्योग र निजी स्वास्थ्य संस्थाको मिलोमतोमा स्वास्थ्य संस्थाको जनेरेटर रक्सी उद्योगमा प्रयोग गर्न दिएर बिरामीमाथि खेलवाड गरिएको हो । विद्युत् भोल्टेज अभावमा सरकारी स्वास्थ्य संस्थामा एक्सरे नहुने भएपछि बिरामीले दोब्बरभन्दा बढी शुल्क तिरेर निजी क्लिनिकमा एक्सरे गराउँदै आएका छन् । सरकारी स्वास्थ्य संस्थामा २ सय रुपैयाँमा हुने एक्सरे निजी क्लिनिकले ५ सय रुपैयाँ लिदै आएका छन् ।
अस्पतालनजिकै एक निर्माणाधीन भवनलाई अस्पतालले उक्त कार्यको लागि प्रयोग गर्ने तयारी भने गरिएको छ । नगर अस्पतालमा भएको विद्युत् तथा अन्य समस्याको विषयमा आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई सोध्दा अस्पतालमा प्रयोग भएको जेनेरेटर वाइन उद्योगमा प्रयोग भएकाले केही समस्या भएको भन्दै छिटै अर्को अस्पतालका लागि जेनेरेटर ल्याउन पहल गरिएको प्रतिक्रिया दिए । “वाइन उद्योगमा पनि विद्युत् नहुँदा काममा समस्या भएपछि अस्पतालको जेनेरेटर वाइन उद्योगमा लगिएको हो,” उनले भने, “अस्पतालमा पनि विद्युत्को समस्या हुन नदिन १०० केभीको जेनेरेटर खरिद गरिसकिएको र केही दिनमा विद्युत्बाट हुने काम रोकिने छैन ।”
नगरपालिकाले गत असोज ११ गतेदेखि नगर अस्पताल सञ्चालन गरेको थियो । साविक आठबिसकोट स्वास्थ्यचौकीलाई नगरपालिकाले नगर अस्पतालको रूपमा स्तरवृद्धि गरेको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा प्रभावकारी सेवा प्रवाह नहुँदा बिरामीहरू मर्कामा परेका छन् । केही समयअघि राम्रो व्यवस्थापनका साथ उद्घाटन गरिएको नगर अस्पताल दिनप्रतिदिन बेहाल बन्दै गएको छ । केही दिन यता अस्पतालमा प्रभावकारी विद्युत् सेवा नहुँदा एक्सरेलगायतका अन्य सेवा पनि रोकिएका छन् । यसअघि अस्पतालमा प्रयोग भइरहेको जेनेरेटर नगरपालिकाकै पहलमा सञ्चालन हुन लागेको एक वाइन उद्योगमा दिएपछि अस्पतालमा एक्सरे सेवा बन्द भएको हो । अहिले चअर्को मूल्यमा बिरामीले निजी मेडिकलबाट एक्सरे गर्ने गर्नेका छन् । अस्पतालमा विद्युत् लाइन भए पनि कम क्षमताको भएका कारण एक्सरे मेसिन चलाउन सक्दैन । एक्सरे मेसिन प्रयोगका लागि नै अस्पतालमा जेनेरेटर प्रयोग गरिएको थियो ।
विद्युत्को भरपर्दाे व्यवस्था नहुँदा एक्सरे गर्नका लागि पनि निजी स्वास्थ्य संस्थामा गएर बिरामीले चर्काे शुल्क तिरिरहेको बिरामीले बताएका छन् । निजी क्लिनिकमा हाल ५ सय रुपैंयाँ तिरेर एक्सरे गर्ने गरिएको छ । जुन काम जेनेरेटर हुँदा २ सयमा अस्पतालले गरिदिने गरेको थियो । अस्पतालका डाक्टर दिलशाही रोकाले अस्पतालमा विद्युत् भोल्टेज नपुगेकाले एक्सरेका लागि निजीमा पठाइने गरिएको स्वीकार गरे । “यसअघि प्रयोग भएको जेनेरेटर अन्य ठाउँमा लिएपछि एक्सरे सेवा हामीले दिन सकेका छैनौं,” उनले भने, “हाम्रो अस्पतालमा उक्त सेवा हुँदा दिने शुल्कभन्दा हाल हाम्रो सेवा बन्द भएपछि स्थानीय मेडिकलले दोब्बर शुल्क लिइरहेका छन ।” आठबिसकोट नगरपालिकाको साथै छिमेकी जिल्ला जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकालाई पनि नजिक पर्ने उक्त नगरअस्पताल २५ शैयाको छ । तर पर्याप्त जनशक्ति अभावले गर्दा बिरामीले चर्काे मूल्यमा निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक जनामात्र डाक्टरको व्यवस्था गरेको भए पनि २५ शैयाको अस्पताल सञ्चालनका लागि अन्य जनशक्तिको अभाव भएको स्थानीयले बताएका छन् । “विद्युत् समस्याका कारण प्रविधि प्रयोगमा समस्यासँगै यहाँ जनशक्तिको पनि पर्याप्त व्यवस्था छैन, म एक्लैले कति गर्न सक्छु र ?” डाक्टर रोकाले भने, “मैले नगरपालिकामा पटकपटक भनेको छु, २छ शैयाको अस्पतालका लागि यति जनशक्तिले मात्र राम्रो सेवा दिन सम्भव छैन, केही डाक्टर र अन्य स्वास्थ्यकर्मी थप्नैपर्छ ।” उनका अनुसार अस्पतालमा अप्रेसन लगायतका अन्य विशेष सेवा प्रदानका लागि आवश्यक भवन पनि छैन ।