पीसीआर बन्द, एन्टिजेन परीक्षणका लागि पनि किट अभाव

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा स्थापना भएको आरटी पीसीआर मेसिन पछिल्लो समय बन्द भएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै पीसीआर मेसिनमार्फत स्वाव परीक्षण गर्नुपर्ने आवश्यकता बढे पनि किट अभावले कोरोना परीक्षण बन्द भएको छ ।
कोरोनाको पहिलो लहर सुरु भएलगतै कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिको सहयोगमा वडा न. २ मा आरटी पीसीआर कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । रुकुम, जाजरकोट, सल्यानका कोरोना बिरामीको स्वाब जाँच गर्न चौरजहारीमा प्रयोगशाला सन्चालनमा ल्याइएको हो । तर, बजेट र जनशक्ति अभावले उक्त प्रयोगशाला ५ महिनादेखि बन्द भएको छ । नगरपालिकाले पटकपटक प्रदेश र संघीय सरकारमा प्रयोगशाला पुनः सञ्चालनमा ल्याउन माग गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको छैन । पीसीआर प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि नगरपालिकाले एन्टिजेन परीक्षणबाट कोरोना परीक्षण गर्दै आएको थियो त्यो पनि किट सकिँदा ४ दिनदेखि बन्द भएको छ । दोस्रो चरणको कोरोना महामारी बढीरहेको छ । यस्तो अवस्थामा समेत कोरोना परिक्षण हुन सकेको छैन ।
नगर स्वास्थ्य शाखा सहसंयोजक डन्ड शर्माका अनुसार किट सकिएको जानकारीसहित जिल्ला स्वास्थ्य कार्यालय लगायतका निकायमा किटको माग गरिएको छ । ‘अहिले जिल्ला स्वास्थ्य कार्यालयमा समेत किट अभाव भएकोले अझै किट पुग्न १÷२ दिन लाग्छ, किट पुग्ने बित्तिकै फेरि परिक्षणको दायरा बढाउँछौ’ उनले भने ।