एनआरएनए नाइजेरियाको अध्यक्षमा पौडेल «

एनआरएनए नाइजेरियाको अध्यक्षमा पौडेल

गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को अध्यक्षमा विश्वास पौडेल नियुक्त भएका छन् । पेशाले चार्टर एकाउण्टेन्ट पौडेल यसअघि संघको उपाध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका थिए । अध्यक्ष जनक बिष्ट नाइजेरिया छाडी नेपालमै स्थायी रुपमा बस्न थालेपछि बाँकी कार्यकालका लागि पौडेललाई कार्यवाहक अध्यक्ष चयन गरिएको हो ।
अध्यक्ष बिष्टको सभापतित्वमा कोषाध्यक्ष हिक्मत थापा, महिला उपसंयोजक मन थापा र सदस्य चिरञ्जीवी रोकाको उपस्थितिमा लेगोसमा सम्पन्न कार्यसमिति बैठकले डिसेम्बर ८ २०१८ देखि लागू हुने गरी सो निर्णय गरेको हो । त्यस्तै बैठकले यही डिसेम्बर २९ र ३० तारिखमा युगाण्डाको कम्पालामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई पाँच सय अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै एनआरएनए अन्तर्राष्ट्रिय समितिले सम्पन्न गर्न लागेको जानकी मन्दिर उज्यालो परियोजनाका लागि नाइजेरियाबाट सहयोग जुटाउन सचिव अभिषेकमान सिंहलाई संयोजक तोकिएको छ । यसका साथै यसअघि एनआरएनएको अन्तर्राष्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सुनसरी र रसुवामा परियोजना सम्पन्न गरिसकेको जानकारी दिँदै अब अर्को जिल्लामा परियोजना सुरु गर्ने निर्णयसमेत गरेको न्युज एनआरएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्