जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर
मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला धेरै अस्पतालमा भेन्टिलेटरको अभाव खट्किएको छ । तर, उपलब्ध ४ वटा भेन्टिलेटर भने स्टोर कक्षमै थन्क्याउन बाध्य भएको स्याङ्जा जिल्ला अस्पतालले जनाएको छ ।
दक्ष जनशक्ति अभावमा भेन्टिलेटर उपयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले बताए । उनले भने, “भेन्टिलेटर चलाउन एनेस्थियोलोजिष्ट र तालिमप्राप्त नर्स चाहिन्छन् । उनीहरूको अभावमा भेन्टिलेटर चलाउन सकिएको छैन ।”
बिरामीको अवस्था जटिल बनेपछि कृत्रिम विश्वास दिनका लागि प्रयोग गरिने मेसिन (भेन्टिलेटर) चलाउने चिकित्सक एवं प्राविधिक नभएको उनको भनाई छ । जिल्ला संकट व्यवस्थापन समितिले अस्पतालमा १० शय्याको आइसोलेसन बनाउने निर्णय गरेको छ । अघिल्लो वर्ष पनि जिल्ला अस्पतालमा आइसोलेसन कक्षा बनाइएको थियो ।
स्याङजामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । हालसम्म संक्रमितको संख्या २ सय १६ नाघेको छ । संक्रमितमध्ये १ सय ८६ होम आइसोलेसनमा र २५ जना विभिन्न स्वास्थ्य संस्थामा र ५ जना क्वारेन्टाइनमा उपचारर्थ छन् ।
जिल्लामा उपलब्ध रहेका १० अस्पतालमा २ सय १० वेड क्षमता भए पनि अहिलेसम्म कुनै पनि अस्पतालमा आईसीयू र भेन्टिलेटर सहितको सुविधा नरहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए । उनकाअनुसार वैशाख १ यता ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाश डोटेल