अलैंची खेतीको सकारात्मक भविष्य «

अलैंची खेतीको सकारात्मक भविष्य

चालू आर्थिक वर्षको हालसम्मको समयमा २ अर्ब ७१ करोड ६१ लाख रुपैयाँबराबरको अलैंची निर्यात भएको छ ।

नेपालमा कतिपय ठाउँ कृषि उत्पादनका हिसाबले कुनै न कुनै रूपमा पकड क्षेत्रका रूपमा परिचित छन् । जस्तै आलु उत्पादनका लागि काभ्रेको पाँचखाल प्रमुख रूपमा आउँछ भने स्याउका लागि जुम्ला, सुन्तलाका लागि मनकामना, गोलभेंडाका लागि सर्लाही, चिया र अकबरे खुर्सानीका लागि इलामका साथै धान उत्पादनका लागि तराईका केही जिल्लाहरू । यहाँ उत्पादित यस्ता कृषि उपजहरूले उल्लेख्य रूपमा बजार पाउने गरेका छन् । यस्तै नगदे बालीका रूपमा लिइने गरिएको र विशेष गरी नेपालका पहाडी जिल्लाका सेपिलो ठाउँहरूमा धेरै उत्पादन हुने अलैंची पनि पछिल्ला दिनहरूमा एक उल्लेख्य नगदे बालीका रूपमा रहेको छ ।
हिजोआज अलैंचीबाट सोचेभन्दा धेरै फाइदा आउन थालेपछि सम्बन्धित क्षेत्रका कृषकहरूले यसलाई खोल्साभित्रको कालोसुनका रूपमा लिने गरेका छन् । अलैंची खेतीका लागि उनीहरूले कुनै तालिम लिएका छैनन् । न सरकारले उनीहरूलाई कुनै सहयोग नै गरेको छ । कहिलेकाहीं अलैंचीमा धेरै प्रकारका रोग लागेर फल नै कुहिने समस्या पनि उस्तै छ ।

यसरी अभाव र अप्ठ्याराहरूबीच उत्पादन गरेको भए पनि नेपालको अलैंचीले स्वदेशको बजारमा त आफ्नो स्थान बनाएकै छ, यसका अतिरिक्त विदेशका धेरै ठाउँमा पनि आफूलाई परिचित बनाएको छ ।

विगत केही वर्षयता अलैंची नेपालको प्रमुख निर्यातवस्तुका रूपमा रहँदै आएको छ । चालू आर्थिक वर्षको हालसम्मको समयमा २ अर्ब ७१ करोड ६१ लाख रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशतले धेरै हो । पाँच वर्ष अगाडिसम्म अलैंचीको मूल्य त्यति धेरै थिएन । प्रतिकेजी ३ सय रुपैयाँ रहेको अलैंची त्यसयता प्रतिकेजी ३ हजार रुपैयाँभन्दा माथिसम्म पुग्यो । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसरी मूल्य अकासिएपछि नेपाली कृषकहरू पछिल्ला दिनहरूमा अलैंची खेतीलाई अझ व्यावसायिक बनाउन तल्लीन छन् । त्यसैले प्रत्येक वर्ष अलैंची उत्पादनले उच्च गति लिन थालेको देखिएको छ ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका अनुसार विगत पाँच वर्षयता अलैंचीको निर्यात यस्तो रह्यो । आर्थिक वर्ष ०६९/७० मा २ अर्ब ४ करोड ३७ लाख रुपैयाँको अलैंची निकासी भएको थियो । त्यस्तै वर्ष ०७०/७१ मा ३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको अलैंची निर्यात भयो । यसैगरी आर्थिक वर्ष ०७१/७२ मा ३ अर्ब ८५ करोड रुपैयाँबराबरको निर्यात भएको देखिन्छ । ०७२/०७३ मा ४ अर्ब २७ करोड रुपैयाँ र ०७३/०७४ मा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । यसरी हेर्दा वर्ष ०७३/७४ मा भने पछिल्ला वर्षहरूको तुलनामा निर्यात केही मात्रामा घटेको छ, तर पनि यो ज्यादै निराशाजनक निर्यात भने होइन । यो नेपालमा खपत भएर बाहिर पठाइएको अलैंचीको तथ्याङ्क हो । यसर्थ कुल उत्पादन भने कति छ, त्यसको तथ्याङ्क निकाल्न सकिएको छैन ।
विगत वर्षहरूमा प्रतिमन (४० केजी) अलैंचीको १ लाख रुपैयाँभन्दा धेरैमा बिक्री भएको भए पनि गत वर्ष ९५ हजारमा मात्र बिक्री भएको थियो । यस वर्ष त्यति नै परिमाणको अलैंचीको ८० हजार रुपैयाँमा बिक्री भइरहेको बताइएको छ । यसरी मूल्य घट्दै गएका कारण उत्पादन धेरै भए पनि कम मूल्यमा बेच्नुपर्दा कृषकहरूलाई पहिलेभन्दा केही घाटा हुँदै आएको छ । यद्यपि मूल्यमा यस्तो उतारचढाव आइ नै रहने हुँदा कृषकहरू डराउनुपर्ने अवस्था भने नआएको बुझिएको छ । केही समयपछि अलैंचीको मूल्य पहिलेभन्दा पनि वढ्न सक्ने सम्बन्धित विज्ञहरूको अनुमान छ ।
हुन त नेपालको अलैंचीले विश्वका थुप्रै देशमा ठाउँ जमाएकै छ, तर पनि धेरै अलैंची भारतमा जान्छ । नेपालले विश्वका देशहरूमा सीधै व्यापार गर्न नसकिएका कारण भारतले नै महँगोमा अरू देशमा पठाउँदै आएको छ । यसले नेपालको अलैंचीले अझ उपयुक्त मूल्य नपाएको देखिन्छ । भारतका अतिरिक्त पाकिस्तान, सिंगापुर, युएई, बंगलादेश, भूटान र जापानसम्म नेपालको अलैंची जान्छ । विश्वमा अलैंची उत्पादनको उपयुक्त वातावरण निकै कम छ । तर, नेपालका विशेष गरी पूर्वी पहाडी जिल्लाहरू इलाम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, काभ्रेलगायतमा अहिले धेरै मात्रामा यसको उत्पादन हुने गरेको छ । योभन्दा अझ धेरै उत्पादन पनि हुन सक्छ । तर, सरकारले ती क्षेत्रलाई अलैंची उत्पादनको पकड जिल्लाको रूपमा घोषणा गर्दै सम्बन्धित कृषकहरूलाई अलैंची खेतीतर्फ अझै प्रेरित गराउने कार्यक्रम भने ल्याउनैपर्छ । आगामी दिनहरूमा यसले निकै राम्रो प्रभाव जमाउन सक्ने कृष्ाि विज्ञहरू बताउँछन् ।
यसरी अलैंचीले राम्रो व्यावसायिकता पाएपछि सरकारले पनि पछिल्ला दिनहरूमा अलैंची उत्पादनलाई केही मात्रामा प्राथमिकतामा राख्ने बताएको छ । तर, कुनै उल्लेख्य काम भने अझै हुन सकेको छैन । सरकारका धेरै योजनाहरू कागजमै सीमित भएको देखे/सुनेका कृषकहरू यस्ता सस्ता योजनाहरूलाई त्यति सहजै विश्वास गर्दैनन् । अहिले उत्पादन भइरहेको अलैंची पुरानै अवस्थाको हो । खेती गर्ने तरिका पुरानै छ, बीउ पनि पहिलेकै हो । आधुनिक तरिकाको खेती गर्नै सकिएको छैन । तैपनि यति उत्पादन र निर्यात हुनुलाई कृषकहरूले निकै ठूलो उपलब्धिका रूपमा लिएका छन् ।
नेपालमा निर्यात सम्भाव्यतामा धेरै कृषि उत्पादनहरू छन्, तर धेरैजसो उत्पादनहरू नेपालमै मात्र खपत हुन्छन् । सीमित वस्तुहरूले मात्र आफूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाएका छन् । ती सीमित वस्तुमध्ये पनि पहिलो नम्बरमा रहेको नेपाली अलैंचीलाई विश्वका अझ धेरै राष्ट्रमा पुर्याउन र अझ धेरै कृषकलाई यसतिर अभिप्रेरित गराउन अहिलेको जति सरकारी प्रयासले मात्र पुग्दैन । कृषकहरूको सानो प्रयासले मात्र पनि यो सम्भव छैन । यसमा सरकारले ध्यान दिनैपर्छ, जसका लागि कागजमा मात्र थन्किएको अलैंची उत्पादनको कार्ययोजनालाई व्यवहारमै उतार्न आवश्यक छ । अलैंची खेती मात्र नभएर यस्तै सम्भाव्यतामा रहेका अन्य खेतीहरू अदुवा, अकबरे खुर्सानी, अम्रिसो, चियाखेतीलगायतलाई पनि प्राथमिकतामा राखेर खेती गर्नु र गराइनु अहिलेको आवश्यकता हो । अनि मात्र नेपालको अलैंचीलगायत अन्य वस्तुको अहिलेको उत्पादन र निकासीलाई अझ माथि उकास्न सकिने कुरामा सायदै दुईमत नहोला कि !
ज्ञानमणि नेपाल कालोटोपी

प्रतिक्रिया दिनुहोस्