निषेधाज्ञा र उडान बन्दले उपचार गर्नै समस्या
हवाईजहाजको भरमा दैनिक उपभोग्य सामान आयात हुने हुम्लामा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । जिल्लाभरका हरेक स्थानीयमा दैनिक उपभोग हुने खानेतेल, तरकारी, औषधीलगायत अन्य सम्पूर्ण सामान नेपालगञ्ज, सुर्खेतबाट भित्रिने गरेको छ । हरेक दिन हवाईजहाजबाट सामान नियमित ढुवानी हुने भएता पनि कोभिडको दोस्रो लहरको निषेधाज्ञासँगै हवाई कम्पनीले पनि आजबाट उडान स्थगित गरेका छन् ।
हवाई कम्पनीले सिमकोट विमानस्थलमा हवाई उडान बन्द गर्ने निर्णयले हुम्लाको अधिकांश क्षेत्र प्रभावित बनेको छ । काम विशेषले जिल्ला बाहिर जानुपर्नेसमेत रोकिएको छ । बिरामीलगायत अन्य विशेष कामले आवत–जावत गर्नेका लागि हवाई सेवा बन्द हुँदा समस्या भएको छ । हुम्लाको एक मात्र जिल्ला अस्पतालमा सेवा दिन नसकिने र थप उपचारका लागि जिल्ला बाहिर जाने विरामी समस्या पर्ने भएका छन् । जिल्लाको अस्पतालमा कोभिड लगायत अन्य विरामीको लागि अक्सिजन लगायत अन्य आवश्यक पर्ने स्वास्थ्य सामग्रीसमेत हवाईजहाजबाट भित्र्याउनु पर्ने भएको कारण थप समस्या हुने भएको छ ।
आर्थिक वर्षको उत्तरार्धमा हुम्लाका हरेक विकास निर्माणको कार्य हवाईजहाज उडान रोकिँदा अवरोध भएका छन् । निर्माणका सामग्री सिमेन्ट, रड, ग्याविनलगायतका सामान हवाई जहाजले नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट निर्यात गर्ने गरिएको छ । हिउँदको महिनामा हिउँले छोप्ने र सिमेन्ट नजम्ने भएकोले विकास निर्माणका काम गर्नको लागि वैशाख महिनादेखि हुम्लामा सुरु हुने गरेको छन् । निर्माणका रहेक योजना सम्झौता भई काम सुरु गर्नुपर्ने बेलामा हवाईजहाजको उडान रोकिनु भनेको हुम्ला ठप्प हुनु सरह भएको सिमकोट गाउँपालिकाका लेखा प्रमुख हिमाल रोकायाले बताउए । हुम्लाको स्थानिय प्रशासनले बैशाख २१ गतेको राती १२ बजेबाट लागु हुने गरी जिल्लाभर लकडाउन गरेको छ । स्वास्थ्य, शान्ती सुरक्षा, सूचना तथा सञ्चार, खानेपानी, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम् सेवामा खुल्ने गरी लकडाउन गरेको छ । यातायातको साधनमा विरामी बोकेको तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनलाई मात्र अनुमति दिइएको छ ।
हुम्लामा वैशाख २० गते सुर्खेतबाट तारा एयरको विमानमा सवार भई हुम्ला आएका ११ जनामध्ये ८ जनामा एन्टिजेन प्रविधिमार्फत चेकजाँच गर्दा ८ जनामा कोभिड पोजेटिभ देखिए पछि स्थानीय प्रशासनले कडाईको साथ लकडाउन गरेको छ । बाटोमा हिँडडुल गर्दा, एक ठाउँदेखि अर्को ठाउँ जाँदा अनिवार्य रुपमा मास्कको प्रयोगमा स्थानिय प्रशासनले कडाई गरेको छ । यदि मास्क नलगाई हिँडेको पाईएमा हरेक व्यक्तिबाट १ सय रुपैयाँ जरिवानासमेत गर्ने गरेको छ । कोभिड पोजेटिभ देखिएका संक्रमितलाई सिमकोटको रानीवन क्वारेन्टाइनमा राखिएको छ ।