एम्बुलेन्स नियमनका लागि संयन्त्र गठन «

एम्बुलेन्स नियमनका लागि संयन्त्र गठन

कोभिड–१९ को प्रभावसँगै लमजुङमा एम्बुलेन्स सेवा प्रवाहलाई व्यवस्थित बनाउन संयन्त्र गठन भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदीश मिश्रको संयोजकत्वमा सरोकारवालाहरूको संयन्त्र गठन भएको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कार्यहरू सञ्चलन गर्ने अवधीमा एम्वुलेन्स सेवा सञ्चालन व्यवस्थापन र अनुगमन गर्र्ने सम्वन्धमा निर्णय गरेको हो । बैठकले दैनिक एम्वुलेन्स सेवा सरल, सहज र भरपर्दो र व्यवस्थित गर्नका लागि प्रशासकिय अधिकृत मिश्रको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरीक्षक जगदीश रेग्मी, बेसीशहर नगरपालिका स्वास्थ्य शाखा प्रमूख मनोज सिँह बोहोरा, जिल्ला अस्पताल प्रतिनिधी भीमकुमार तामाङ, स्वास्थ्य कार्यालयका हुमनाथ पौडेल र एम्बुलेन्स चालक संघका अध्यक्ष शंकर भण्डारी रहेका छन् ।
बैठकले एम्बुलेन्स सञ्चालनका लागि साताको सातै दिन पहिलो दुईवटा, दोस्रो दुईवटा र तेस्रो दुईवटा एम्बुलेन्सको प्राथमिकीकरण उपसमितिले गर्ने निर्णय गरेको छ । प्रथामिकीकरण तालिका अस्पतालको कल सेन्टरमा उपलब्ध गराउने र अस्पतालको कल सेन्टरले कोभिड–१९ संक्रमितहरूको ओसार पसारका निम्ती एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भएको छ ।
कोभिड–१९ सँग सम्वन्धीत तोकिएको जिम्मेबारी पूरा नगर्नु एम्बुलेन्स सञ्चालक र चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ ।
बिरामीहरूले चाहेको बेलामा एम्बुलेन्स नपाएको र एम्बुलेन्स चालकहरू पनि आफू अनुकूल ठाउँमा बिरामी ओसार पसार गर्न नमानेपछि प्रशासनले यस्तो निर्णय भएको हो । जिल्लामा हाल सरकारी तथा विभिन्न निकायले दुई दर्जन बढी एम्बुलेन्स सञ्चालन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्