मध्यनेपालले बनायो १५ शय्याको आइसोलेसन
कोरोना भाईरस संक्रमितको उपचारका निम्ती लमजुङको मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित १५ शय्याको आइसोलेसन तयार गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीब्र रुपमा बढ्न थालेसँगै नगरपालिकले पूर्व तयारी गरेको हो ।
नगरपालिकाले वडा नम्बर–१ को जितावेसीस्थित अस्थायी कोभिड अस्पतालमा आइसोलेसन कक्ष तयार पारेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए । आईशोलेसन सँगै विरामीको उपचारको निम्ती एक जना डाक्टर, दुई जना स्टाफ नर्स सहितको स्वास्थ्य टोली पनि तयार पारेको नगरप्रमुख पाण्डेले बताए ।
कोभिड बिरामीको तत्काल उद्धारका लागि हाल एक एम्बुलेन्स पनि तयारी अवस्था राखिएको र थप एम्बुलेन्सको लागि प्रदेश सरकारसँग माग गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सम्भावित कोरोना संक्रमण फैलन नदिन तथा पहिचानका निम्ती हरेक साताको सोमबार भोर्लेटार र रम्घामा गरी दुई स्थान स्वाब संकलनको व्यवस्था गरिएको मध्यनेपाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वैकुष्ठप्रसाद सापकोटाले बताए ।
नगरपालिकाले कोभिड संक्रमण फैलनसक्ने भन्दै पालिका अन्तर्गतका विद्यालयहरूमा पठनपाठन समेत बन्द गराएको छ । संक्रमणकालिन अवस्थामा पालिकाभित्रका जेष्ठ नगरिक तथा दीर्घरोगीको लागि घरदैलो सेवा सहित निःशुल्क औषधी उपचारको व्यवस्था पनि गरिरहेको नगरपालिकाले जनाएको छ ।