थप बिरामी भर्ना गर्न असमर्थ छौं : नेपालगन्ज मेडिकल कलेज

नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराइरहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । कलेजको सञ्चालक संस्था लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो ।
“अस्पतालमा लिक्विड अक्सिजन ट्याँक, पीएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीको उपचार भइरहेको छ,” प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “तर सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याँक सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोना बिरामी भर्ना गर्न असमर्थ रहेको दुखःका साथ सार्वजनिक रूपमा सबैलाई जानकारी गराउन चाहन्छौं ।”
सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याँक यथासक्य उपलब्ध गराइदिए तुरुन्त तीन सय बेड सञ्चालन गरी कोरोना बिरामी भर्ना थाल्ने अस्पतालले जनाएको छ । अक्सिजन आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वैशाख १९ र २१ गते लिखित अनुरोध गरी अक्सिजन अभावमा ठूलो संकट आउने जानकारी गराइएको विज्ञप्ति उल्लेख गरिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै कोरोना बिरामीको चाप यही अस्पतालमा हुने भएकाले कोरोना बिरामीका लागि हरेक ५ दिनमा एउटा लिक्विड अक्सिजन ट्याँक वा दैनिक ८ सय अक्सिजन सिलिन्डरको आवश्यक्ता रहेको जानकारी नेपाल सरकारलाई दिइसकेको विज्ञप्तिमा जनाइएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीका कारण बेड भरिन थालेपछि मेडिकल कलेजले यही वैशाख ३ गतेदेखि कोभिड–१९ बिरामीका लागि आईसीयूसहित ४५ बेड सञ्चालन गरी उपचार सुरु गरेको थियो । पछि अस्पताल र नेपाल सरकारसँंग सम्झौता भई एक सय बेडको कोभिड–१९ वार्ड सञ्चालन गरे पनि बिरामीको चाप बढ्दै गएपछि तीन सय बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालनको तयारी थालिएको थियो ।
बुधबार २९३ ले जिते कोरोना
कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा कोरोना जित्नेको संख्या पनि बढिरहेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बुधबार दुई सय ९३ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएका छन् । बुधबार कोरोना जित्नेमा वैजनाथ–५ का ७६ वर्षीय पुरुषसहित १ सय ७० पुरुष र १ सय २३ महिला छन् । कोरोना संक्रमण भएमा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम सावधानीपूर्वक खानपीनमा ध्यान दिए सजिलै कोरोना जित्न सकिने चिकित्सकको भनाइ छ ।