भारत सरकारद्वारा साना जलविद्युत् योजना पुनः स्थापना
भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा साना जलविद्युत् प्लान्टको पुनःस्थापना गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत् प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत साना जलविद्युत् प्लान्टको उद्घाटन गरिएको छ ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा २०० किलोवाट विद्युत् उत्पादन क्षमता भएको यस जलविद्युत् प्लान्टको निर्माण नेपाल विद्युत् प्राधिकरणले सन् १९८३ मा गरेको हो । प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनःस्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्यांकीको निर्माण र जलविद्युत् प्लान्टको पुनःस्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २० हजार मानिस यस प्लान्टबाट लाभान्वित हुनेछन् ।