वनमा आधारित रोजगारी वृद्धि गर्न माग «

वनमा आधारित रोजगारी वृद्धि गर्न माग


सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वनमा आधारित साना उद्यम सञ्चालनलाई मुख्य प्रथामिकता दिँदै रोजगारी वृद्धि गर्न माग गरेको छ ।
तीव्र रुपमा फैलिएको कोरोनाम महामारीका कारण नेपालदमा पनि धेरैको रोजगारी गुमेको भन्दै फेकोफनले वनमा आधारित साना उद्यम सञ्चालन गर्न सरकारसँग माग गरेको हो ।
बिहान बेलुका श्रम गरेर खाने किसान, उपभोक्ताहरुले संरक्षण गरेको वन पैदावार उपभोगमा लगाइएको रोकावट तत्काल खुल्ला गरी देशभरी रहेका सामुदायिक वन उपभोक्ता समूहहरुलाई वन पैदावार उपभोगमा सहजता र वनमा आधारित साना उद्यम सञ्चालन र रोजगारी सृजना गर्ने व्यवस्था गर्न पनि फेकोफनको आग्रह छ ।
फेकोफनकी अध्यक्ष भारती पाठकले विपन्नको जिविकोपार्जनसँग सम्बन्धित कायक्रम सञ्चालन गरी वन व्यवस्थापनको काममा सहजता ल्याउनुपर्ने बताइन् । “वन पैदावार सहि तरिकाबाट व्यवस्थापन गर्न, वनमा आधारित साना उद्यम सञ्चालन गर्दै रोजगारी वृद्धि गर्न आवश्यक छ” उनले भनिन्, “गाउँ टोलमा मनोविमर्श कार्यक्रम सञ्चालन गर्न र सामुदायिक वन उपभोक्ता समूहमा रहेका महत्वपूर्ण जडिबुटीहरु पहिचान, उपयोगीता र बजारिकरणमा जोड दिनु आवश्यक छ ।”
अध्यक्ष पाठकले संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षाको सामग्री खाद्यान्नहरु गरिब विपन्न समुदायलाई स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध गराउन माग गरेकी छिन् । सामुदायिक वन उपभोक्ता समूहले क्वारेन्टाइनको लागि व्यवस्था गरिएको १४ सय सामुदायिक वनका भवनहरुमा सम्बन्धित निकायसँग परामर्श गरी स्थानीय फर्निचर लगायतका आवश्यक सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा सामुदायिक भवन राख्ने र यसको जानकारी स्थानीय सरकार र प्रशासनलाई गराउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्