दोलखाका व्यवसायीहरुले आफैं बजार बन्द गर्न कस्सिए
कोरोना भाइरसको लहर बढ्दै गएपछि स्वास्थ्य सर्तकताका लागि दोलखाका व्यवसायीहरु आफैं बजार बन्द गर्न कस्सिएका छन् । दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्सले विज्ञप्ती प्रकाशित गरी भीडभाड हुन नदिन स्वतः स्फूर्त रुपमा एक साताका लागि बजार बन्द गर्न आह्वान गरेका हुन् ।
व्यवसायीहरुले बुधबारदेखि एक हप्ताका लागि अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्ने भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणको दर उच्च हुँदै गएको र संक्रमणले मृत्यु हुनेको संख्या बढेसँगै व्यापारीहरु बजार बन्द गर्न तयार भएका हुन् । दोलखामा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ भने एक युवतीको मृत्यु भइसकेको छ ।
व्यापारीका ती दुई संघले औषधीजन्य पसलबाहेकका व्यवसाय बिहान ११ बजेपछि बन्द गर्न आह्वान गरेका हुन् । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ र दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठद्वारा हस्ताक्षरित आह्वानपत्रमा जिल्लाभरका उद्योगी व्यवसायीलाई बिहान ११ बजेसम्म मात्र पसल र व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ । उक्त समयमा पनि व्यवसाय सञ्चालन गर्दा पूर्णरुपमा स्वास्थ्य सावधानीका मापदण्ड अपनाउन समेत अनुरोध गरिएको छ । अत्यावश्यक सेवा दिनेबाहेक सरकारी तथा गैरसरकारी संघसंस्था एक साताका लागि बन्द गर्न संघले आह्वान गरेको छ ।
बैंक तथा सहकारीहरुलाई भिडभाड नहुने गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्नका लागि अनुरोध गरिएको छ । साथै अत्यावश्यक कामबाहेक एक साताका लागि यातायातका साधनहरु सञ्चालन नगर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले जिल्लामा पीसीआर र एन्टीजेन प्रविधिबाट गरिने कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छन् । स्थानीय निकाय तथा सम्बन्धित निकायहरुलाई जिल्ला प्रवेश गर्ने मुख्य नाका खरिढुंगा र किर्नेटार लगायतका नाकाहरुबाट भित्रिने यात्रुहरुको अनिवार्य स्वास्थ्य जाँच गरी कम्तिमा ५ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न आह्वान गरेका छन् । डिसिसिएमसी दोलखाले स्थानीय तहसँग समन्वय गर्दै भीडभाड हुने कार्यक्रम नगर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जनचेतनामूलक सन्देश प्रभाव गर्दै आएको छ ।