Logo

मालपोत कार्यालयको सेवा प्रवाह भू–सेवा केन्द्र मार्फत


मालपोत कार्यालयको सेवा प्रवाहका लागि आगामी आइतबारदेखि अनिवार्य भू–सेवा केन्द्रमार्फत सञ्चालन हुने भएको छ । जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्रवाहलाई विकेन्द्रित गरी भू–सेवा केन्द्रमार्फत सहज बनाउन लागिएको हो ।
मालपोत कार्यालयको सेवा प्रवाह स्थानीय तहबाट गर्ने भनिएपनि कार्यन्वयनमा चुनौति देखिएको छ । मालपोत कार्यालयका सेवा प्रवाहका लागि स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनका लागि निवेदन माग भएकोमा सदरमुकाम बाहेक कुनैपनि स्थानिय तहबाट निवेदन नपरेपछि कार्यान्वयनमा समस्या देखिएको हो ।
हाल सेवा प्रवाह हुँदै आएको मालपोत कार्यालयको केही सेवा सुविधा स्थानीय तहबाटै प्रवाह गर्नेगरी तयारी गरीएपनि भू–सेवा केन्द्र सञ्चालनका लागि जिल्लाका स्थानीय तहबाट कुनै निवेदन नपरेको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वर कमल श्रेष्ठले बताए । संघीयता कार्यान्वयनसँगै जिल्ला सदरमुकामबाट प्रवाह हुँदै आएको सेवा प्रवाहलाई स्थानीय तहमा विकेन्द्रित गर्ने योजना बनाएपनि स्थानीय तहबाट कुनै पनि आवेदन नपरेको जिल्ला मालपोत कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ ।
जिल्ला मालपोत कार्यालय लमजुङले सार्वजनिक सूचना प्रवाह गर्दै स्थानीय तहबाट उक्त सेवा प्रवाहका लागि मापदण्ड पुगेका व्यक्ति तथा सम्बन्धित सस्थालाई सूचीकृत हुन आग्रह गरेको थियो । कार्यालयले तोकेको समय सीमाभित्र सुन्दरबजारबाट एक जना र सदरमुकाम बेसीशहरबाट १९ जना गरी जम्मा २० जनाले मात्रै सेवा प्रवाहका लागि आवदेन दिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
अनलाईनबाटै सेवा प्रदान र प्राप्त गर्न पेपरलेस सरकारको अवधारणालाई मूर्तरुप दिई छिटो छरितो र प्रभावकारी सेवा प्रभाव गर्न लागिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । भू–सेवा केन्द्रमार्फत सेवा प्रवाह सुरू भएसँगै जिल्लाबाट भइरहेको सेवा प्रवाहमा सहजता आउने र हाल उत्पन्न जनगुनासो पनि कमी हुने कार्यालय प्रमुख श्रेष्ठले बताए ।
भू–सेवामार्फत घरबाटै जग्गा सम्बन्धी कार्य गर्न निवेदन दिन सकिने र अनलाइनबाटै कारोबार गर्न सकिने भएकाले नागरिकलाई उक्त सेवाले सहज बनाउने कार्यालयको विश्वास छ । भू–सेवा केन्द्र सञ्चालनमा आएसँगै जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको चाप घट्ने र काम कारवाही छिटो छरितो हुने तथा विचौलियाको चलखेल पनि न्यूनिकरण हुने कार्यालयको विश्वास छ ।
यसैबीच भू–सेवा केन्द्र सञ्चालनका लागि आवेदन दिएर छनौट भएका २० जनालाई प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्