लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायो मान्यता «

लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायो मान्यता

लायन्स क्लब्स् अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलो पटक अफिसियल भाषाका रूपमा चौधौं स्थानमा मान्यता प्रदान गरेको छ । भाषाको मान्यतापछि अबदेखि लायन्स अन्तर्राष्ट्रियको हेडक्वाटर अमेरिकाको मुख्य कार्यालयमा नेपाली भाषा पनि अफिसियल भाषा बन्ने भएको हो ।
अबको केही समयपछि लायन्स अन्तर्राष्ट्रियको वेवसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने यो अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सञ्जय खेतानले बताएका छन् । प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ । यसअघि अंग्रेजी र अन्य भाषामा मात्र सुन्न सकिने अवस्था थियो ।
लायन खेतानको लामो समयदेखिको प्रयास र लायन्स क्लब्स् अन्तर्राष्ट्रियसँगको खेतानको सम्बन्धले पहिलो पटक लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषा अफिसियल भाषाका रूपमा दर्ता भएको बताइएको छ ।
लायन्सप्रति नेपालीहरुको बढ्दो सक्रिय सहभागिता, नेपाली लायन्सको सहयोग र सहकार्यको उच्च मूल्यांकन गर्दै समाजसेवामा विश्वमै अग्रस्थानमा रहेको लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई मान्यता दिएको लायन खेतानले बताए ।

प्रतिक्रिया दिनुहोस्