एनआईसी एशिया बैंकद्वारा बिमा रकम भुक्तानी
एनआईसी एशिया बैंकले बचतसँगै बिमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिजअन्तर्गत उपलब्ध २० लाख बिमा रकम जनही १० लाख रूपैयाँका दरले दुई जना ग्राहकलाई भुक्तानी गरेको छ ।
रुपन्देही जिल्लास्थित सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकी थिइन् । सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरूलाई समेत उपलब्ध बिमा सुविधा अनुरुप उनका श्रीमान जवीनप्रसाद कक्षपतिको घातक रोग उपचारवापत निज खातावालाले उक्त रकम प्राप्त गरेकी हुन् ।
यस्तै जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी बिनबहादुर वर्मालाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उक्त बिमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।
बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बिमा सुविधा प्रदान गर्दै आएको छ । बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रूपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्चवापत १ लाखसँगै विभिन्न निःशुल्क सुविधासमेत ग्राहकले पाउने बैंकले जनाएको छ
बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ४४५ जना भन्दा बढी ग्राहकले बिमावापतको २ करोड ९० लाख रूपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ । यस किसिमका बिमासहितको बचत योजनाबाट सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।