कोरोनाको नयाँ भेरियन्टबाट मृत्युदर उच्च «

कोरोनाको नयाँ भेरियन्टबाट मृत्युदर उच्च


सुदूरपश्चिम प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट संक्रणका कारण मृत्युदर उच्च देखिएको छ ।
सोमबारसम्म तीन हजार दुई जनामा एन्टिजेन पोजेटिभ देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । नयाँ भेरियन्टको संक्रमणका कारण शरीरमा अक्सिजन कम भएर पछिल्लो एक सातामा ३५ जना संक्रमितको मृत्यु भएको छ भने त्योभन्दा पहिले सोही भेरियन्टको संक्रमणबाट ४ जनाको मृत्यु भएको थियो ।
नोबेल कोरोना भाइरसको संक्रमणबाट हालसम्म सुदूरपश्चिममा एक सय २६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा पहिलो चरणको कोरोनाबाट १६ हजार छ सय ९० जना संक्रमित हुँदा ८७ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्टबाट मृत्युदर १.३ छ भने पुरानो भेरियन्टबाट मृत्युदर शून्य दशमलव ५ छ ।
प्रदेश स्वास्थ्य निर्देशनलायको रेकर्डअनुसार सोमबार सबैभन्दा धेरै ११ जना संक्रमितको नयाँ भेरियन्टको संक्रमणका कारण मृत्यु भएको छ । नयाँ भेरियन्टको संक्रमणका कारण शरीरमा अक्सिजन कम भएर वैशाख १९ गते ८, १८ गते ४, १७ गते ४, १६ गते ६, १५ र १४ गते १÷१ जनाको मृत्यु भएको थियो । एक महिनादेखि सुदूरपश्चिममा देखिएको कोरोनाको नयाँ भेरियन्टका कारण त्यसअघि ४ जनाको मृत्यु भएको थियो ।
सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्टबाट संक्रमितर मृत्यु हुने दर उच्च छ । कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकका अनुसार संक्रमितमध्ये प्रायः सबैमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । तीमध्ये अधिकांशलाई निमोनियाको समस्या छ ।
सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर निराजन दत्त शर्माले बिरामीहरूले अस्पतालमा ढिलो पुग्नुले नै कोरोनाले संक्रमितलाई श्वासप्रश्वास र निमोनियाले ग्रसित बनाइरहेको बताए । “संक्रमितहरू ढिलो अस्पताल आउने गरेका छन्,” उनले भने, “भारतबाट आइरहेका संक्रमितलाई पनि अस्पताल पुग्न ढिलो भइरहेको छ । बिरामी भएपछि घरमै उपचार गर्न खोज्ने, उपचारमा गए पनि नजिकैको मेडिकलमा सामान्य चेक जाँच गराएर औषधि खाने गरेको भेटिएको छ । प्रायः संक्रमितलाई हामीले मेडिकलमा सामान्य जाँच गराएर टाइफाइट र भाइरल ज्वरोको औषधि खाइरहेको भेटाएका छौं ।”
उनले रुघाखोकी, ज्वरो र टाउको दुःख्ने समस्या देखिएमा तुरुन्तै अस्पताल पुगेर चिकित्सको सल्लाहमा पीसीआर गरेरमात्रै औषधि खानुपर्ने सुझाव दिए । “जथाभावी औषधि खाँदा तत्काल निको भएजस्तो लागे पनि त्यसको नकारात्मक प्रभाव परिरहेको हुन्छ । गलत उपचारको गलत प्रभाव पर्छ नै,” उनले भने, “पछि गएर त्यसले झन धेरै समस्या निम्त्याइरहेको छ । अहिले औषधि खाइहाल्नु भन्दा पनि सबै किसिमको जाँच गरेरमात्रै औषधि खानु उपयुक्त हुन्छ ।”
उनले संक्रमितलाई माइलेस, मोडरेट र सिरियस गरी तीन समूहमा विभाजन गरी उपचार गरिरहेको बताए । उनकाअनुसार माइलेस संक्रमितलाई होमआईसोलेसनमा राखेर उपचार गरिँदैछ भने मोडरेटमा अस्पतालको आइसोलेसन र सिरियस संक्रमितलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
अस्पतालको आइसोलेसन, आईसीयू र भेन्टिलेटरमा रहेका संक्रमितलाई अक्सिजनको आवश्यकता रहेको डा. शर्माले बताए । उनले प्रेसरले अक्सिजन दिनुपर्ने संक्रमितलाई सिलिन्डरको अक्सिजनले समेत नभ्याइरहेको बताए । “तत्कालका लागि सिलिन्डरको अक्सिजनले काम चलाइएको भए पनि दीर्घ रूपमा उपचारका लागि ठूला अस्पतालमा अक्सिजन प्लान्ट नै आवश्यक छ,” डा. शर्माले भने, ‘प्रेसरले दिने अक्सिजन सिलिन्डरले पुग्दैन । ठूलो प्रेसर दिनसक्ने मेसिन नै चाहिन्छ ।”

प्रतिक्रिया दिनुहोस्