कर्णालीका आठ जिल्लामा निषेधाज्ञा
कर्णालीका १० मध्ये आठ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्नका लागि जुम्ला र मुगुबाहेकका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । संक्रमण नियन्त्रण बाहिर जाने संकेत देखिएपछि जिल्लाहरूमा एकपछि अर्काे गर्दै निषेधाज्ञा गर्न थालिएको छ । संक्रमणदर उच्च भएपछि सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोटमा निषेधाज्ञा आदेश लागू छ । मंगलबार राति १२ बजेदेखि हुम्ला र डोल्पामा पनि निषेधाज्ञा लागू गर्ने निर्णय भइसकेको छ । दैलेख र हुम्लामा २१ गते राति १२ बजेदेखि २८ गते राति १२ बजे र डोल्पामा २१ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ ।
गत वर्ष पहिलो चरणको कोरोना संक्रमणका बेला मुगु, हुम्ला र डोल्पा लामो समयसम्म संक्रमणमुक्त थिए । तर कोरोनाको दोस्रो लहरबाट भने हिमाली जिल्ला पनि मुक्त हुन सकेनन् । प्रदेशमा संक्रमण फैलिएको दुई हप्तामै हिमाली जिल्लामा पनि संक्रमण फैलिएको छ । हाल मंगलबारसम्म कर्णाली प्रदेशमा २ हजार ४ सय ५ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने कोरोना संक्रमणबाट ६४ जनाको मृत्यु भइसकेको छ ।
जनशक्ति अभावले भेन्टिलेटर प्रयोगविहीन
कर्णाली प्रदेश पनि कोरोना दोस्रो लहरको चपेटामा परेको छ । प्रदेशमा संक्रमितको दर दिनप्रतिदिन उकालो लागिरहेको छ ।
जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू भेन्टिलेटरजस्ता उपकरण भए पनि सञ्चालन गर्ने जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन । कर्णाली प्रदेशभर १ सय ३४ भेन्टिलेटर रहेकोमा त्यसलाई सञ्चालन गर्ने जनशक्ति भने प्रदेश अस्पताल सुर्खेतमा दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुईजना गरी जम्मा चार जनामात्र छन् । “भेन्टिलेटर चलाउनका लागि विशेष तालिम प्राप्त एनेस्थेसिया गरेको व्यक्ति चाहिन्छ,” कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले भने, “हामीसँंग पर्याप्त भेन्टिलेटर भए पनि जनशक्ति सुर्खेत र जुम्लामा बाहेक प्रयोगमा ल्याउन सकिएको छैन ।”
कर्णालीका सात जिल्ला अस्पतालमा रहेका आईसीयू भेन्टिलेटर सेवा पनि सबै ठाउँ प्रयोग गर्न सकिएको छैन । जाजरकोटमा भौतिक संरचना र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर थन्क्याइएका छन् । रुकुमपश्चिममा आईसीयू र भेन्टिलेटर बेडहरू तयार भए पनि जनशक्ति अभावका कारण प्रयोगविहीन छन् । मुगुमा आईसीयू र भेन्टिलेटर भवन छुट्याइएको छ । तर, जनशक्ति अभावमा त्यहाँ पनि आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् । डोल्पा, कालिकोट, दैलेख र सल्यान अस्पतालमा भेन्टिलेर आईसीयू सेवा जनशक्ति अभावका कारण प्रयोगविहीन छन् । अक्सिजन, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण आईसीयू भेन्टिलेटर प्रयोगविहीन बनेको सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।
कर्णाली प्रदेशभर ६२ वटा आईसीयू बेडहरू छन् । जसमध्ये हुम्ला, कालिकोट र दैलेखमा पाँच–पाँच वटा, मुगु, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा दुई–दुईवटा, प्रदेश अस्पताल सुर्खेतमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० र चौरजहारी अस्पताल रुकुमपश्चिममा चारवटा आईसीयू बेडहरू छन् । त्यस्तै प्रदेशभर कुल २७ भेन्टिलेटर बेडहरूमध्ये जाजरकोट, रुकुमपश्चिम, सल्यान, डोल्पा र मुगुमा एक÷एक हुम्ला, कालीकोट र दैलेखमा दुई–दुई, प्रदेश अस्पताल सुर्खेतमा १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ बेड भेन्टिलेटर सेवा छन् ।
यता भेण्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नियुक्ति गर्न विज्ञापन गर्ने तयारी भइरहेको निर्देशनालयका प्रमुख डा. खड्काले बताए । डा. खण्ड्काले यससम्बन्धी जनशक्ति अभाव रहँदै आएको भन्दै विषय परिस्थितिमा कर्णालीमा आएर सेवा गर्न चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजनसमेत पर्याप्त छैन । १० जिल्लामध्ये मुगु, कालिकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लामा अक्सिजन प्लान्ट छैन । ती जिल्लाले बाह्य जिल्लाबाट अक्सिजन खरिद गरेर ८–१० जना बिरामीलाई मात्रै सेवा दिन सक्ने सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।
सुर्खेत, जुम्ला र हुम्लामा अक्सिजन प्लान्ट छ । तर, हुम्लामा विद्युत् अभावका कारण अक्सिजन उत्पादन हुँदैन । त्यहाँ बाह्य जिल्लाबाट अक्सिजन सिलिन्डर आपूर्ति गरेर २३ वटा बेडमा अक्सिजन सप्लाई गर्न सक्ने क्षमता छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन सय बेड र प्रदेश अस्पताल सुर्खेतमा ४० बेडबाट अक्सिजन दिन सकिन्छ । सुर्खेत र जुम्लामा पनि न्यून मात्रामा (दैनिक ८ देखि १० सिलिन्डर) अक्सिजन उत्पादन हुन्छ । यता कर्णाली प्रदेश सरकारले भने संक्रमणको अवस्था जटिल भएको खण्डमा जनशक्ति व्यवस्थापन गरेर सबै आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्ने बताएको छ ।