महानगरद्वारा वडामै पीसीआर परीक्षण सुरु

विराटनगर महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने कार्य फेरी सुरु गरेको छ ।
बिरामीहरूको सुरक्षा र सेवालाई ध्यानमा राखेर महानगरले महामारीको दोस्रो लहरसँगै फेरि स्बाव संकलन थालेको हो । कोरोना भाइरसको संक्रमणदर बढेसँगै विराटनगर महानगरपालिकाले कोभिड १९ को पिसिआर परीक्षण सुरु गरेको हो ।
विराटनगरमा दैनिक दुई सय जनाभन्दा बढी मानिसहरू कोरोनाबाट संक्रमित हुन थालेपछि महानगरले प्रत्येक वार्डलाई लक्षित गरेर स्वाब संकलन गर्ने र परीक्षण गर्ने कार्य आरम्भ गरेको हो ।
सूचना प्रकाशित गरेर महानगरले सबै १९ वटै वार्डहरूका नागरिकलाई सेवा दिने गरी विभिन्न ३ वटा केन्द्रबाट स्वाब संकलन गर्ने जनाएको थियो । त्यसैअनुरुप काम सुरु भएको महानगरकी उपमेयर इन्दिरा कार्कीले बताइन् ।
पहिलो चरणमा कोभिडको लक्षण देखा परेका बिरामीहरूले स्वाब संकलन केन्द्रमा उपस्थित भएर परीक्षण गराउन सक्ने गरी महानगरले व्यवस्था मिलाएको छ । त्यसपछि महानगरले संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई पनि परीक्षण गर्ने बताइएको छ । महानगरपालिकाले स्वाब संकलनका लागि सबै क्षेत्रलाई पायक पर्ने गरी तीन वटा केन्द्रहरू निर्धारण गरेको छ । विराटगनरको वडा नम्बर १, २, ३, ४ र १९ बासीले तीनपैनीस्थित पानीटंकी (पुरानो दमकल रहेको भवन)मा गएर स्वाब संकलन गराउनु पर्नेछ ।
त्यस्तै वडा नम्बर ५, ६, ७, ८, ९ र १० बासीले जिल्ला प्रशासन कार्यालय नजिक आदर्श स्कुलको विज्ञान भवनमा गएर स्वाब संकलन गराउने व्यवस्था मिलाइएको छ । महानगरले वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७ र १८ का लागि वडा नं. १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानीमा पुगेर स्वाब संकलन गराउने गरी केन्द्र तोकेको कार्कीले जानकारी दिइन् ।