बोट सुक्न थालेपछि अलैंची किसान चिन्तित

फूल फुल्ने सिजनमै अलैंचीको बोट सुक्न थालेपछि तेह्रथुमका किसान निराश बन्न थालेका छन् । गत वर्षसम्म राम्रो आम्दानी भएको बगान नै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समय अलैंची खेती फस्टाउँदै गएको छ ।
खेती फस्टाउँदै गएपनि यसवर्ष भने उत्पादनमा गिरावट आउने जिल्ला कृषि कार्यालयले जनाएको छ । यहाँका किसानले ५ देखि ५० रोपनीसम्म क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । रोगले सताउन थालेपछि आम्दानीको श्रोत नै गुमेको स्थानीय भूमिकला लिम्बुको भनाइ छ । ओसिलो तथा भिरालो जमिनमा राम्रो उत्पादन हुने यो खेती खेतीयोग्य जमिन मासेर किसानहरु खेती बिस्तार गर्दै आएका छन् । गत चैतमा आएको खडेरीका कारण अलैंचीको जरा सुकेकाले ढुसीनास रोगका कारण बगानहरु सुक्न थालेको छथर गाउँपालिकाकाको कृषि शाखाका प्रमुख हेम थापाले बताए ।
तेह्रथुमका ईवा, ह्वाकु, संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु, ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मालगायतका स्थानमा किसानले अलैंची खेती गर्दै आएका छन् । जिल्लामा ७ सय २३ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ ।